सरकारजस्तै हचुवा तालमा जर्नेल सरुवा गर्ने रोग नेपाली सेनामा

नेपाली सेनामा पनि सरकारजस्तै हचुवा तालमा जर्नेल सरुवा गर्ने रोग सल्किएको छ । खटाइएको पृतना पुग्न नपाउँदै फेरि अर्को आदेश आउँदा उनीहरु जिल्लिएका छन् । विशिष्ट श्रेणीका हाकिमहरूको सरुवा दुई तीन दिनमै उल्टाउँदा झिटीगुन्टा कसेर हिंड्न लागेकाहरु जंगी अड्डामै थुप्रिएका छन् ।

ब्याच नम्बर १९७८ भएका उपरथी किरण केसीलाई निरीक्षणाधिकृत विभागबाट पूर्वी पृतना हेडक्वार्टर इटहरी पठाइएको थियो । तर, दुई दिन मै फिर्ता ल्याइएको छ । उता, पूर्वी पृतना हेडक्वार्टरबाट निरीक्षणाधिकृत विभाग आइजी अफिसमा खटाएका उपरथी पवनराज घिमिरेले जिम्मेवारी सम्हाल्न नपाउँदै निर्णय उल्टाइएको छ । उनलाई सैनिक इन्टेलिजेन्स महानिर्देशनालयमा काज सरुवा गरिएको छ । निमित्त महानिर्देशकको जिम्मेवारी पाएका उनको ब्याच नम्बर १८५६ हो ।

१४ महिना कार्यकाल बाँकी रहँदै म्याद नथपेर घर पठाइएका उपरथी दिपककुमार बानियाँको ठाउँमा उपत्यका पृतना हेडक्वार्टरका उपरथी विष्णु राउत आएका छन् ।

ब्याच नम्बर १९२९ भएका उनलाई निमित्त कार्यरथीको जिम्मेवारी दिइएको छ । ब्याच नम्बर १७७० भएका बानियाँलाई पदावधिको हदले निवृत्तिभरणमा अवकाश दिइएको सेनाले जनाएको छ । तर, स्रोतले भने उनी पदावधि नभई आर्थिक अपचलनमा मुछिएका कारण घर गएको दाबी गरेको छ । नगरकोट शिक्षालय र पोखरा पृतनामा हुँदा आफ्ना मान्छेलाई काममा लगाएर सरकारी बजेट अपचलन गरेको आरोप लागेको स्रोतको भनाइ छ ।

त्यसैगरी, उनीमाथि समाज कल्याणको पैसा हिनामिना गरेको अर्को आरोप पनि छ । स्रोत भन्छ, ‘सेनामा यत्रो अवधि बाँकी हुँदै घर पठाउने अभ्यास अहिलेसम्म भएको थिएन ।’

जनसम्पर्क तथा सूचना निर्देशनालयका सहायक रथी गौरवकुमार केसीलाई पूर्वीपृतना हेडक्वार्टरमा काज नियुक्ति गरिएको छ । बढुवाको तयारीमा रहेका र ब्याच नम्बर २१२७ भएका उनलाई निमित्त पृतनापतिको जिम्मेवारी दिएर त्यता खटाइएको हो ।

युद्धकार्य निर्देशनालयका एकतारे जर्नेल रविन्द्र खत्री उपत्यका पृतना हेडक्वार्टरमा काज सरुवा भएका छन् । ब्याच नम्बर २१०४ भएका उनले निमित्तको जिम्मेवारी सम्हाल्नेछन् । रविन्द्रको ठाउँमा सहायक रथी मनोज थापालाई ल्याइएको छ । ब्याच नम्बर २३९५ भएका थापा सैनिक कमाण्ड तथा स्टाफ कलेजमा थिए ।

उनलाई निमित्त निर्देशकको रूपमा त्यता काज नियुक्त गरिएको हो । ब्याच नम्बर २५१० भएका र भिभिआइपी सुरक्षामा तैनाथ सहायक रथी राजाराम बस्नेतलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयसँगै अतिरिक्त जिम्मेवारी तोकिएको छ । उनले सैनिक प्रवक्ताको काम पनि हेर्नुपर्ने छ ।

यसबाट सरुवामा सेनाले दूरदृष्टि नराखेको गुनासो छ । एक सैनिक अधिकृत एकाध दिनमै सरुवा गर्ने प्रवृत्ति कसैको पनि हितमा नभएको बताउँछन् । भन्छन्, ‘सरुवामा सेनाको दूरदृष्टि भएन । भर्खर सरुवा भएर आएको हुन्छ, फेरि अर्को ठाउँमा पठाउँछन् । के कारणले सरुवा गरेको पनि भन्दैनन् । सेनाको सरुवाशैली ठ्याक्कै सरकारको जस्तै भयो । यसलाई सुधार्न आवश्यक छ ।’