सरकारले ठूला दरका भारतीय नोटमाथि लगाइएको प्रतिबन्ध हटाएसँगै नेपालमा अब भारतीय रुपैयाँ (भारू) २ सय र ५ सय दरका नोट प्रयोग गर्न पाइने भएको छ। यस निर्णयले सीमावर्ती क्षेत्र तथा सर्वसाधारणको दैनिक कारोबारमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २ सय र ५ सय दरका भारतीय नोट भारत–नेपाल ओहोरदोहोर गर्न पाउने व्यवस्था गरेको हो। निर्णयअनुसार एक व्यक्तिले अधिकतम २५ हजार भारतीय रुपैयाँसम्म यस्ता दरका नोट लान वा ल्याउन पाउनेछ।
यसअघि ठूला दरका भारतीय नोटमा प्रतिबन्ध रहँदा व्यापार, पर्यटन तथा व्यक्तिगत प्रयोजनका लागि भारतीय रुपैयाँ प्रयोगमा कठिनाइ देखिँदै आएको थियो। नयाँ व्यवस्थासँगै सीमावर्ती व्यापार, पर्यटक आवागमन तथा आपसी आर्थिक गतिविधि थप सहज र सक्रिय हुने विश्वास सरकारको छ।
