सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका विभिन्न माध्यमिक विद्यालयमा सामाजिक विकृतिविरुद्ध कानुनी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सडक नाटक कार्यक्रम सम्पन्न भएको छ। जुगल गाउँपालिकाको सहयोगमा आवाज आर्ट क्रिएशन प्रा। लि।द्वारा उक्त नाटक प्रदर्शन गरेको हो।
पछिल्लो समय जुगल गाउँपालिकामा सामाजिक सञ्जाल र मोबाइल फोनको दुरुपयोगका कारण विद्यार्थी तथा युवाहरू मानसिक दबाबमा पर्ने, पारिवारिक तथा सामाजिक सम्बन्ध कमजोर हुने र आत्महत्यासम्मका दु:खद घटनाहरू देखिन थालेका छन्। यस्ता समस्याको न्यूनीकरण तथा अन्त्यका लागि विद्यालय तहबाटै सचेतना फैलाउने उद्देश्यले सडक नाटक कार्यक्रम सञ्चालन गरिएको न्यायिक सहजकर्ता सुरज ढकालले जानकारी दिएका छन्
आवाज आर्ट क्रिएशनका निर्देशक कृष्णप्रसाद धितालका अनुसार नाटकमा सामाजिक सञ्जालको दुरुपयोग, विद्यार्थीहरूले अधिकार मात्र खोज्ने तर कर्तव्यप्रति बेवास्ता गर्ने प्रवृत्ति, मोबाइलको अत्यधिक प्रयोगले पढाइ र जीवनमा निम्त्याउने नकारात्मक असर, पारिवारिक संवादको अभावजस्ता विषयवस्तुहरू समेटिएका छन्। नाटकले कानुनी सचेतनासँगै नैतिक मूल्य र सामाजिक जिम्मेवारीबारे पनि सन्देश दिएको उनले बताए।
नाटकमा कृष्णप्रसाद धिताल, नवराज गजुरेल, मिना श्रेष्ठ, सुस्मिता भण्डारी, सन्तोष गिरि, दीपक घिमिरे र नविन काफ्ले लगायत कलाकारहरूले अभिनय गरेका छन्। कार्यक्रमबाट विद्यार्थी, शिक्षक र अभिभावकहरू लाभान्वित भएको आयोजकको भनाइ छ।
आवाज आर्ट क्रियाशनले सामाजिक विकृति बिसंगति महिलाहिसा, बालश्रमिक लगायतका बिसयमा जनचेतना फैलाउने हिसाबले मुलुकका विभिन्नं स्थानमा कार्यक्रम तथा नाटकहरु गर्दै आइरहेको छ ।
तस्बिरहरु :




