नास्टको डिजिटल सफलता: विश्वस्तरमा तेस्रो स्थान

नेपालको प्रविधि क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (NAST) ले अन्तर्राष्ट्रिय भिडियो प्रतियोगितामा सूचना पहुँच केन्द्र (IAC) को सफलतामा तेस्रो स्थान प्राप्त गरेको छ।

विश्वका ४५ देशका ६० केन्द्रसँग प्रतिस्पर्धा गर्दै नेपालले विश्व डिजिटल मञ्चमा आफ्नो पहिचान मजबुत गरेको छ।

नेपाल–कोरिया सूचना पहुँच केन्द्रको यात्रा

NAST ले कोरिया सरकारको औपचारिक विकास सहयोग (ODA) कार्यक्रम अन्तर्गत पेश गरेको प्रस्तावपछि यो परियोजना सुरु भएको हो। कोरियाको राष्ट्रिय सूचना समाज संस्था (NIA) बाट प्राविधिक र वित्तीय सहयोग प्राप्त गर्दै नेपालमा “डिजिटल अन्तर” घटाउने उद्देश्यले यो केन्द्र स्थापना गरिएको थियो।

  • MoU हस्ताक्षर: ११ डिसेम्बर २०२०

  • अधिकारिक उद्घाटन: ११ नोभेम्बर २०२१

  • मुख्य उद्देश्य: नेपालभरि IT विकास प्रवर्द्धन र डिजिटल असमानता घटाउनु।

नवप्रवर्तन: स्थायी ल्याब र मोबाइल आईएसी

IAC लाई दुई रूपले सञ्चालन गरिएको छ:

  • स्थायी IT ल्याब: NAST मुख्यालयमा अवस्थित, विश्वविद्यालयका विद्यार्थी, अनुसन्धानकर्ता र सरकारी कर्मचारीलाई उच्चस्तरीय तालिम प्रदान गर्ने।

  • मोबाइल IAC (मोबाइल बस): देशभरि यात्रा गर्ने “सञ्चलनशील केन्द्र”, दुर्गम क्षेत्रका विद्यालय र सुरक्षा कर्मचारीलाई निःशुल्क IT शिक्षा प्रदान गर्ने।

२०२२ देखि हालसम्म १२,००० भन्दा बढी नेपाली नागरिकले यी सुविधाबाट निःशुल्क, गुणस्तरीय ICT तालिम प्राप्त गरिसकेका छन्।

समावेशी प्रविधि: दृष्टिविहीन समुदायलाई सशक्त पार्दै

कोरियाली सरकारले दृष्टिविहीन व्यक्तिहरूका लागि विशेष सहायक उपकरण उपलब्ध गराएको छ। NAST ले यस समुदायलाई प्रविधि उपयोग गर्न तालिम दिने कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ र राष्ट्रिय स्तरमा विस्तारको पहल गरिरहेको छ।

विश्वस्तरको सफलता

NIA द्वारा आयोजित प्रतियोगितामा प्रत्येक केन्द्रले ३–५ मिनेटको “सफलता कथा” भिडियो प्रस्तुत गर्नुपथ्र्यो। सीमित प्राविधिक साधन र विशेषज्ञ जनशक्तिका बावजुद, नेपालले विश्वस्तरमा तेस्रो स्थान हासिल गर्यो।

यो उपलब्धि केवल NAST को नभई सम्पूर्ण नेपालका लागि गर्वको क्षण हो, जसले देखाउँछ कि रणनीतिक साझेदारी र स्थानीय प्रतिबद्धतासँग नेपाल विश्वमञ्चमा प्रतिस्पर्धा गर्न सक्षम छ।