नेपालका विद्यालयहरूमा डिजिटल साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको ‘डिजी स्कुल’ अभियानले प्रभावकारी प्रगति गर्दैछ। डिजी ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठका अनुसार, अभियानले प्रविधिमा आधारित शिक्षालाई सहज, पहुँचयोग्य र व्यवहारिक बनाउँदै विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापनमा सकारात्मक परिवर्तन ल्याएको छ।
अभियान अन्तर्गत विद्यालयहरूमा डिजिटल कक्षा सञ्चालन, स्मार्ट बोर्ड प्रयोग, अनलाइन शिक्षण सामग्री, शिक्षक तालिम र विद्यार्थीका लागि डिजिटल सीप विकास कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। यसले परम्परागत शिक्षण पद्धतिलाई प्रविधिसँग जोड्दै सिकाइ प्रक्रियालाई रोचक र प्रभावकारी बनाएको श्रेष्ठले जानकारी दिए।
विशेष गरी ग्रामीण तथा पहुँच बाहिरका विद्यालयहरूमा डिजिटल शिक्षाको पहुँच विस्तारमा अभियानले प्राथमिकता दिएको छ। शिक्षकहरूका लागि डिजिटल टुल्स, ई–लर्निङ प्लेटफर्म र आधुनिक शिक्षण विधिबारे तालिम दिइएको छ भने विद्यार्थीहरूलाई सुरक्षित इन्टरनेट प्रयोग र नवप्रवर्तनशील सोच विकासमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिएको छ।
अभियानले २५० विद्यालयका विद्यार्थीहरूलाई लाभान्वित गरेको छ र आगामी दिनमा अझ धेरै विद्यालयलाई डिजिटल सञ्जालमा जोड्दै ‘डिजिटल रूपमा सक्षम पुस्ता’ तयार गर्ने लक्ष्य राखिएको छ। यसले विद्यालय प्रशासनलाई विद्यार्थी अभिलेख, उपस्थिति, शैक्षिक प्रगति र अभिभावकसँगको समन्वय सुदृढ बनाउन समेत सहयोग पुर्याएको छ।
स्थापनाको ५ वर्ष प्रवेशको अवसरमा डिजी स्कुलले विद्यार्थी लक्षित डिजी मेडिकल सेवा, विद्यालयमै स्वास्थ्य परीक्षण र समूह दुर्घटना बीमा जस्ता कार्यक्रम पनि सुरु गरेको छ।
शिक्षा क्षेत्रमा डिजिटल रूपान्तरण अपरिहार्य हुँदै गएको वर्तमान सन्दर्भमा ‘डिजी स्कुल’ अभियानलाई सरकारी, निजी र सामुदायिक विद्यालयबीच सहकार्यको उदाहरणका रूपमा हेरिएको छ। यस अभियानले नेपालको शिक्षा प्रणालीलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
