काठमाडौंमा यस वर्षको हालसम्मकै न्यूनतम तापक्रम, उपत्यकामा जाडो बढ्दै

काठमाडौंको न्यूनतम तापक्रम यस वर्षको हालसम्मकै सबैभन्दा कम मापन भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस पुगेको हो।

महाशाखाका मौसमविद्हरूका अनुसार यो यस वर्ष काठमाडौंमा मापन भएको सबैभन्दा न्यूनतम तापक्रम हो। तुलनात्मक रूपमा, आइतबार बिहान ५:४५ बजे न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस थियो।

काठमाडौंको तुलनामा ललितपुरको सानेपा क्षेत्र अझ चिसो छ। मौसमविद उज्ज्वल उपाध्यायका अनुसार सानेपामा आज बिहान न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस मापन भएको छ, जुन अघिल्लो दिनको तुलनामा ०.५ डिग्री सेल्सियस कम हो।

हाल उपत्यकामा घाम लागेकाले केही न्यानोपन महसुस भए पनि केही दिनयता न्यूनतम तापक्रम लगातार घट्दो क्रममा छ। शनिबार काठमाडौंको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस, आइतबार ४ डिग्री र सोमबार ३.५ डिग्री सेल्सियस मापन भएको थियो।

मौसमविद डेभिड ढकालका अनुसार यद्यपि आजको न्यूनतम तापक्रम यस वर्षको सबैभन्दा कम हो, तर सामान्य सरदर भन्दा केही बढी छ। जनवरी ६ तारिखको सरदर न्यूनतम तापक्रम काठमाडौंमा २.२ डिग्री सेल्सियस रहेको छ।

उच्च तापक्रममा ठूलो उतारचढाव भने देखिएको छैन। तराई/मधेशका जिल्लाहरूमा बिहानीपख हुस्सु र मध्याह्नपछि खुल्ने प्रवृत्ति जारी रहने सम्भावना रहेको छ। मौसमविद ढकालले आगामी दिनमा उपत्यकामा जाडो बढ्ने र तापक्रम केही कम रहिरहने अनुमान गरेका छन्।