नेपाल–चीन उत्तरी सीमा क्षेत्रमा रहेको कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार पछिल्लो समय उल्लेख्य रूपमा घटेको छ। तातोपानी र रसुवागढी नाका पुनः सञ्चालनमा आएपछि कोरलानाका वैकल्पिक नाकाका रूपमा सीमित बन्दै गएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ।
भन्सार कार्यालयका सूचना अधिकारी निमेन्द्र सिंहका अनुसार हाल कोरलानाकाबाट नेपाल भित्रिएका मालवाहक कन्टेनर भन्सार जाँचपासका लागि आठदेखि १० वटामात्र ‘पेन्डिङ’मा छन्। ती बाहेक हाल थप कन्टेनर भन्सार कार्यालयमा नआएको उनले जानकारी दिए।
तातोपानी र रसुवागढी नाका बन्द रहँदा कोरलानाकाबाट दैनिक १५–२० वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास हुने गरेको थियो। तर ती दुई नाका खुलेसँगै कोरलानाकाबाट हुने कारोबार लगभग पूरै घटिसकेको सिंहको भनाइ छ।
गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरलानाकाबाट हालसम्म साढे पाँच अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ। यही अवधिमा चीनबाट ११ अर्ब रुपैयाँभन्दा बढी मूल्यका मालवस्तु नेपाल आयात भएका छन् भने नेपालबाट १९ करोड रुपैयाँभन्दा बढी मूल्यका हस्तकला तथा नेपाली उत्पादन चीनतर्फ निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।
सूचना अधिकारी सिंहका अनुसार कोरलानाकाबाट हालसम्म दुई हजार १०० भन्दा बढी विद्युतीय कार नेपाल भित्रिएका छन्। पछिल्लो समय मात्रै बिवाइडी कम्पनीले करिब ५०० वटा विद्युतीय कार यही नाकाबाट आयात गरेको छ।
कोरलानाकालाई वैकल्पिक नाकाका रूपमा प्रयोग गरिँदै आएको भए पनि तातोपानी र रसुवागढी नाका खुलेपछि यहाँको आयात–निर्यात परिमाण घट्दा भन्सार कार्यालयका कर्मचारीसमेत फुर्सदिला बनेका छन्। यस नाकाबाट सामान ढुवानी गर्दा लागत बढी पर्ने भएकाले व्यापारीहरू अन्य नाकातर्फ आकर्षित भएको भन्सार कार्यालयको ठम्याइ छ।
यद्यपि, मुस्ताङ भन्सार कार्यालय प्रमुख सिंहले प्रतिकूल मौसमबाहेक अन्य समयमा कोरलानाकाबाट आयात–निर्यात कारोबार पूर्ण रूपमा शून्य नहुने दाबी गरे। “रसुवागढी र तातोपानी बन्द हुँदाजस्तो चाप नहोला, तर केही व्यापारीका लागि कोरलानाका अझै सहज विकल्प हो,” उनले भने, “यसैले विगतका वर्षझैँ भन्सार ठप्प हुन्छ भन्ने अवस्था छैन।”
हाल कोरलानाका र भन्सार कार्यालय परिसरमा चहलपहल घटेको छ। समुद्री सतहबाट चार हजार ६१० मिटर उचाइमा रहेको यस क्षेत्रमा व्यापार गर्ने व्यापारी, चिनियाँ भन्सारबाट कन्टेनर तथा विद्युतीय सवारी ल्याउने स्थानीय युवाहरू चहलपहल घटेसँगै जाडो छल्न बेँसीतर्फ झरेका छन्। प्रतिकूल मौसमका बाबजुद भन्सार कार्यालयका केही कर्मचारी भने नियमित रूपमा कार्यालयमा खटिरहेका छन्।
