नेपाली छुर्पीको बजार फराकिलो बन्दै

नेपालमा उत्पादित छुर्पीको निर्यात चालु आर्थिक वर्षमा उल्लेख्य रूपमा बढेको छ। मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपाली छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको छ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार पूर्वी नाका काँकरभिट्टाबाट साउनदेखि मङ्सिरसम्म ४८ करोड ५२ लाख ७३ हजार रुपैयाँ बराबरको दुई लाख ७५ हजार २४६ केजी छुर्पी निर्यात भएको छ। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने ३६ करोड ७६ लाख २३ हजार रुपैयाँ बराबरको दुई लाख १७ हजार ६८ केजी छुर्पी निर्यात भएको थियो।

तथ्यांकअनुसार गत वर्षको तुलनामा चालु वर्षमा छुर्पीको निर्यात रकम ११ करोड ७६ लाख ५० हजार रुपैयाँले बढेको छ। नेपाली छुर्पी निर्यात हुने मुख्य नाका काँकरभिट्टा नै हो। मेची भन्सार कार्यालयबाट निर्यात हुने प्रमुख १० मालवस्तुको सूचीमा छुर्पी चौथो स्थानमा रहेको छ।

छुर्पी पहाडी तथा हिमाली जिल्लामा उत्पादन हुने दुग्धजन्य वस्तु हो। नेपालबाट निर्यात हुने अधिकांश छुर्पी युरोप र अमेरिकाका बजारसम्म पुग्ने गरेको छ। ती देशहरूमा नेपाली छुर्पी मुख्यतः कुकुर र बिरालोको आहारका रूपमा प्रयोग हुने गरेको व्यवसायीहरू बताउँछन्।

नेपाल छुर्पी व्यवसायी संघका महासचिव ऋषि तिम्सिनाका अनुसार नेपालमा उत्पादन हुने कुल छुर्पीमध्ये करिब ८० प्रतिशत हिस्सा कोशी प्रदेशको रहेको छ। उनले नेपाली छुर्पी निर्यातको सम्भावना उच्च भए पनि यसको उत्पादन र व्यवसाय प्रवर्द्धनमा सरकारले अपेक्षित ध्यान दिन नसकेको गुनासो गरे।