चुमनुब्री गाउँपालिकाले गण्डकीमा पहिलोपटक प्यान सेवा सुरु गर्यो

हिमालपारिको चुमनुब्री गाउँपालिकाले गण्डकी प्रदेशमै पहिलोपटक स्थायी लेखा नम्बर (प्यान) वितरण सेवा सुरु गरेको छ।

गाउँपालिकाका प्रधान प्रशासकीय अधिकृत मनोज लामिछानेका अनुसार, गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये चुमनुब्री गाउँपालिका पहिलो तह हो जसले प्रत्यक्ष रूपमा प्यान सेवा सुरु गरेको हो।

सरकारले गोरखा लगायत ३८ जिल्लाका कर सेवा कार्यालय खारेज गरेपछि ती कार्यालयबाट प्रवाह हुने कतिपय सेवासुविधा कोष तथा लेखा नियन्त्रण कार्यालय वा स्थानीय तहमार्फत उपलब्ध गराउने व्यवस्था मिलाएको थियो।

सोही निर्णयअनुसार चुमनुब्री गाउँपालिकाले स्थानीय तहबाटै करसम्बन्धी सेवा संचालन गर्न थालेको हो। बुधबार गाउँपालिका र आन्तरिक राजस्व कार्यालय, दमौलीबीच सम्झौता सम्पन्न भएसँगै सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको लामिछानेले जानकारी दिएका छन्।