स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २३औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २३औँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा बसेको सभाले सेयरधनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

लाभांशअन्तर्गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय भएको हो । यो बोनस सेयर वितरणपछि संस्थाको चुक्ता पुँजी १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।

संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३५ करोड ९७ लाख ८३ हजार ८५६ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सभाले उक्त आवको वासलात, नाफा-नोक्सान हिसाब लगायतका वित्तीय विवरणहरू सर्वसम्मत पारित गरेको छ ।

साधारण सभाले रिक्त रहेको सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा रविन कुमार श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । साथै, आव २०८१/८२ को लेखापरीक्षणका लागि ‘सुन्दर एण्ड कम्पनी’ चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने र अन्य कुनै लघुवित्तसँग मर्जर वा प्राप्ति (एक्विजिसन) सम्बन्धी प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अधिकार दिने प्रस्ताव समेत पारित गरेको छ ।