सिद्धार्थ बैंक लिमिटेडले आफ्नो प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा रामेश्वर प्रसाद बस्याललाई नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको निर्णयअनुसार बस्यालको नियुक्ति पुस २५ गते (शुक्रबार)देखि लागू हुने जनाइएको छ।
बैंकिङ क्षेत्रमा झण्डै ३६ वर्षको अनुभव भएका बस्यालले आफ्नो करियर सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न महत्वपूर्ण पदहरू सम्हालेका थिए। सन् २००५ मा सिद्धार्थ बैंकमा प्रवेश गरेपछि उनी प्रबन्धकबाट सुरु गरी वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायब महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतसम्मको यात्रा तय गरेका छन्।
