काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–११ राम्चेबेँसीका किसानहरू अहिले बारीमा फलेको काउली बेच्न व्यस्त छन्। विशेषगरी पोहोरभन्दा यस वर्ष काउलीको बजारभाउ राम्रो भएपछि लगानी उठ्ने र आम्दानी बढ्ने आशा किसानहरूलाई उत्साहित बनाएको छ।
स्थानीय किसान बासुदेव सापकोटाले करिब चार रोपनी बारीमा काउली रोपेर यस वर्ष ५,००० किलोसम्म बिक्री गर्ने योजना बनाएका छन्। तर, केही रोगका कारण उत्पादन गत वर्षको जस्तो नभएकामा उनी दुःखेसो पोख्छन्। हाल बजारमा प्रतिकिलो काउली रु ४५–५० सम्ममा बिक्री भइरहेको छ। गत वर्ष मूल्य नपाउँदा किसानको लगानी जोखिममा परेको थियो।
राम्चेबेँसीमा यस वर्ष करिब १३० किसानले काउली रोपेका छन्। यहाँका बारीमा काउलीसँगै बन्दा, गोलभेँडा लगायत तरकारी पर्याप्त उत्पादन हुने गर्छ। स्थानीय किसान दैनिक एक हजार किलो काउली उत्पादन हुने बताएका छन्। उत्पादित काउली प्रायः बनेपा र काठमाडौँमा बिक्री गरिन्छ।
एक किसानले एउटै याममा काउली, बन्दा र गोलभेँडा बिक्री गरेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेका छन्। उपभोक्ताले बजारमा काउली प्रतिकिलो रु ९० सम्म तिर्नुपर्ने भए पनि किसानहरू रु ४५ को हाराहारीमा बेचिरहेका छन्। स्थानीय किसान गायत्री सापकोटाका अनुसार, काउली फलाउन बारी खनजोत, रोपाई, गोडमेल, मलजल र किटनाशक विषादी जस्ता मेहनतपूर्ण काम गर्नुपर्छ।
कृष्णप्रसाद सापकोटाले भने, “अन्य मुलुकबाट आयात हुने तरकारीका कारण नेपाली किसानले उचित मूल्य पाउँदैनन्, सरकारले किसानको पक्षमा कदम चाल्नुपर्छ।” गत वर्ष काउलीको मूल्य प्रतिकिलो रु १५ मात्र थियो, जसले गर्दा काटेर बजार लैजाने खर्चसमेत उठेन।
स्थानीय व्यापारीसँग सहकार्य गर्दै किसानहरूले उत्पादन बजारमा पठाइरहेका छन्। किसानहरूले हाटबजार स्थापना गरी उपलब्ध गराउन नगरपालिकासँग अनुरोध पनि गरेका छन्।
