नेपालको विदेशी मुद्रा सञ्चिति ३२ खर्ब नाघ्यो, पाँच महिनामा १९.६ प्रतिशत वृद्धि

नेपालको विदेशी मुद्रा सञ्चिति मंसिर मसान्तसम्म ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले जनाएको अनुसार, गत असारमा कुल विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो। यस अनुसार पाँच महिनामा १९.६ प्रतिशत वृद्धि भएको छ।

कुल विदेशी विनिमय सञ्चितिमा राष्ट्र बैंकसँग २८ खर्ब ६६ अर्ब ४७ करोड र बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब ३५ अर्ब रुपैयाँ कायम रहेको छ। गत असारसम्म राष्ट्र बैंकमा २४ खर्ब १४ अर्ब ६४ करोड र बैंकमा २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेको थियो। यस अवधिमा राष्ट्र बैंकमा विदेशी मुद्रा १८.७ प्रतिशत र बैंकमा २७.४ प्रतिशत वृद्धि भएको छ।

२०८२ मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेको छ। अमेरिकी डलरमा पनि १३.५ प्रतिशतको वृद्धि भई २२ अर्ब १३ करोड डलर पुगेको छ, जुन गत असारमा १९ अर्ब ५० करोड डलर रहेको थियो।

विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५२.४%, १५१.९% र ३९.४% रहेको छ। गत असारमा यी अनुपातहरू क्रमशः ४३.८%, १२८.१% र ३४.१% थिए।