नेपाल आयल निगमले आर्थिक वर्ष २०८१/८२ मा कमायो १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा

काठमाडौँ ।  नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको विवरण सार्वजनिक गरेको छ । निगमको ५६औं वार्षिकोत्सव समारोहमा कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले कुल कारोबार ३ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको र यस अवधिमा १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी राजस्व राज्यलाई योगदान गरिएको जानकारी दिए । उनले निगम पछिल्ला वर्षहरूमा निरन्तर आर्थिक रूपमा सुदृढ बन्दै गएको उल्लेख गरे ।

डा. भट्टका अनुसार निगमको वित्तीय सुधारको मुख्य आधार २०७१ सालदेखि लागू गरिएको स्वचालित मूल्य समायोजन प्रणाली हो । यही प्रणालीका कारण निगम घाटाबाट बाहिर निस्कँदै दिगो नाफाको अवस्थामा पुगेको उनले बताए । साथै, पूर्वाधार विस्तारले ढुवानी लागत घट्नुका साथै व्यवस्थापनलाई थप प्रभावकारी बनाएको उनको भनाइ छ ।