नेपालको निर्माण क्षेत्रमा साढे तीन दशकभन्दा लामो अनुभव बोकेको हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सन प्राइभेट लिमिटेडको वित्तीय तथा सञ्चालन अवस्था क्रमिक रूपमा सुदृढ बन्दै गएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको पछिल्लो रेटिङ रिपोर्टले कम्पनीको आम्दानी, नाफा र ऋण तिर्ने क्षमतामा उल्लेख्य सुधार देखिएको जनाएको छ।
रिपोर्टअनुसार कम्पनीले सन् २०२५ मा ३२ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ६ प्रतिशतले बढी हो। आम्दानीसँगै नाफाको अवस्था पनि उल्लेखनीय रूपमा सुध्रिएको छ। सन् २०२३ मा ०.३९ प्रतिशत मात्र रहेको खुद नाफा मार्जिन सन् २०२५ मा बढेर ३.८९ प्रतिशत पुगेको छ।
कम्पनीको ऋण सेवा क्षमता पनि बलियो बन्दै गएको देखिन्छ। सन् २०२३ मा १.५९ गुणा रहेको ऋण तिर्न सक्ने क्षमता सन् २०२५ मा बढेर ३.२४ गुणा पुगेको छ, जसले वित्तीय जोखिम व्यवस्थापनमा सुधार संकेत गर्छ।
यद्यपि व्यापार विस्तारसँगै निर्माण सामग्रीको मूल्यवृद्धि र सञ्चालन खर्च बढ्दा सञ्चालन मुनाफा भने दबाबमा परेको छ। सञ्चालन मुनाफा सन् २०२३ को २१.७ प्रतिशतबाट घटेर सन् २०२५ मा १७.१ प्रतिशतमा झरेको छ।
सन् २०२५ को नोभेम्बरसम्म कम्पनीसँग करिब १ अर्ब ५९ करोड ६० लाख रुपैयाँ बराबरका सडक तथा पुल निर्माणसम्बन्धी ठेक्काहरू बाँकी रहेका छन्। रेटिङ रिपोर्टले सरकारी ठेक्कामा हुने ढिलाइ, प्रक्रियागत अवरोध, ब्याजदरको उतारचढाव र तीव्र प्रतिस्पर्धालाई कम्पनीका मुख्य जोखिमका रूपमा औंल्याएको छ। आगामी दिनमा नयाँ ठेक्का हात पार्ने र चालू आयोजनाहरू समयमै सम्पन्न गर्नु कम्पनीका लागि प्रमुख चुनौती रहने देखिन्छ।
इन्फोमेरिक्स नेपालले कम्पनीको कुल १ अर्ब ६१ करोड ७९ लाख रुपैयाँ बराबरको बैंकिङ कर्जा सुविधाको रेटिङ गरेको छ। यसअनुसार २० करोड ४३ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि ‘आइआरएन बीबी’, १४ करोड ३० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘आइआरएन ए फोर’ र १ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको मिश्रित कर्जाका लागि ‘आइआरएन बीबी/ए फोर’ रेटिङ प्रदान गरिएको छ।
सन् १९८७ मा स्थापना भएको हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सनले हालसम्म ११५ भन्दा बढी आयोजनाहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ। कम्पनीले लुम्बिनीको मायादेवी मन्दिर जीर्णोद्धार, काठमाडौं–भक्तपुर सडक विस्तारसहित विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरूमा काम गरिसकेको छ। उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप कम्पनीले सन् २०१८ मा नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) बाट ‘गोल्ड अवार्ड’ समेत प्राप्त गरेको थियो।
