निर्माण सामग्री बिक्रीमा नियम उल्लंघन गर्ने दुई कम्पनीलाई जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा नियम उल्लंघन गरेको दुई निर्माण सामग्री व्यवसायी कम्पनीलाई नगद जरिवाना गरेको छ।

अनुगमन तथा निरीक्षणका क्रममा बीएस धवलागिरि ट्रेडर्सलाई १०,००० रुपैयाँ र सिन्धु मटेरियल्स प्रा. लि. लाई १५,००० रुपैयाँको जरिवाना लगाइएको छ। विभागका अनुसार यी दुई कम्पनीहरू उपभोक्ता संरक्षण ऐन, २०७५ को प्रावधान विपरीत सञ्चालन गरेको पाइएपछि जरिवाना गरिएको हो।

हालै विभागले १४ वटा निर्माण सामग्री बिक्री गर्ने कम्पनीहरूको अनुगमन गरेको थियो। सो क्रममा दुई कम्पनीलाई जरिवाना गरिएको भने बाँकी १२ कम्पनीलाई सुधारात्मक निर्देशन प्रदान गरिएको छ।

विभागले स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी र सम्बन्धित निकायहरूको सहभागितामा बजार अनुगमन नियमित रूपमा गर्दै आएको जनाएको छ। नियम उल्लंघन गर्ने कुनै पनि कम्पनीलाई कानूनअनुसार जरिवाना लगाइने व्यवस्था गरिएको छ।