कामना सेवा विकास बैंकको न्यानो साथ

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कैलालीको लम्कीस्थित मानवसेवा आश्रममा आश्रित असहाय, बेसाहारा तथा संरक्षणविहीन वृद्ध आमाबुबा र टुहुरा बालबालिकालाई न्यानो सामग्री वितरण गरेको छ।

बैंकको लम्की शाखा कार्यालयमार्फत सञ्चालन गरिएको कार्यक्रममा शाखा प्रमुख भिम राज जैसीले लम्की मानवसेवा आश्रमका सञ्चालक विनोद थापालाई ब्लाङ्केट, म्याट्रेस, सिरक तथा चिसो मौसममा आवश्यक अन्य न्यानो सामग्री हस्तान्तरण गरेका हुन्।

कार्यक्रमका क्रममा लम्की शाखा प्रमुख जैसीले जाडोयाममा आश्रमलाई सहयोग पुग्ने उद्देश्यले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम सञ्चालन गरेको बताए। उनले यस सहयोगले आश्रममा आश्रित वृद्ध तथा बालबालिकाको दैनिकी सहज बनाउने विश्वास व्यक्त गरे।

न्यानो सामग्री प्राप्त भएपछि आश्रमका सञ्चालक विनोद थापाले जाडोयाममा गरिएको यस मानवीय सहयोगले बेसाहारा वृद्ध तथा बालबालिकाको जीवनमा न्यानोपन, सुरक्षा र आत्मबल थपिने उल्लेख गर्दै बैंकप्रति आभार व्यक्त गरे।

न्यानो सामग्री वितरण कार्यक्रममा कामना सेवा विकास बैंकका कर्मचारी, मानवसेवा आश्रमका पदाधिकारी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।