निर्वाचन आयोगको निर्णय- गगन थापाको नेतृत्व नै कांग्रेसको आधिकारिक

निर्वाचन आयोगले गगन थापा नेतृत्वको काङ्ग्रेसलाई नेपाली काङ्ग्रेसको आधिकारिता प्रदान गरेको छ । आयोगको आज बसेको बैठकले थापा नेतृत्वको काङ्ग्रेसलाई नेपाली काङ्ग्रेसको आधिकारिता प्रदान गर्ने निर्णय गरेको हो।

कांग्रेसका महामन्त्री रहेका गगन थापा र विश्व प्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेश गरेर पुस अन्तिममा गगन थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको थियो। तर संस्थापन पक्षले भने सो विशेष महाधिवेश पार्टीले आयोजना नगरेको भन्दै गगन र विश्वलाई पार्टीबाट नै निकाल्ने निर्णय गरेको थियो।

सभापति शेर बहादुर नेतृत्वको काङ्ग्रेसले आफु नै आधिकारिक कांग्रेस भएको र पार्टीले कुनै विशेष महाधिवेशन नगरेको भन्दै पार्टीको आधिकारिकता आफुलाई दिन भन्दै निर्वाचन आयोग पुगेको थियो। गगन-विश्व समूह भने पार्टीले विशेष महाधिवेशन गरेर गगन थापाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको भन्दै सोहि अनुसार अध्यावधिक गरिदिन आयोग पुगेको थियो।

जसमा आयोगले गगन थापाको नेतृत्व  नै कांग्रेसको आधिकारिक भएको निर्णय गरेको हो । यस संगै अब कांग्रेसको चुनाव चिन्ह रुख र पार्टीको चार तारे झण्डा गगन थापा नेतृत्वको कांग्रेसले पाउने छ। यद्यपि यो विषय सर्वोच्च अदालत पुग्ने निश्चित छ।