नेपाल वायुसेवा निगमको रिक्त महाप्रबन्धक पदका लागि छनोट प्रक्रिया अगाडि बढ्दै नयाँ चरणमा प्रवेश गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार राति सूचना जारी गर्दै संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार उक्त पदका लागि रितपूर्वक आवेदन दिएका १६ जनामध्ये न्यूनतम शैक्षिक योग्यता र आवश्यक अनुभव पूरा गर्ने १० जनालाई संक्षिप्त सूचीमा समावेश गरिएको छ। वर्णानुक्रम अनुसार तयार गरिएको सूचीमा उपेन्द्रबहादुर कार्की, टंकनिधि दाहाल, डा. दिपकप्रसाद बास्तोला, दिपुराज ज्वारचन, डा. भीमबहादुर चन्द, योगराज कंडेल शर्मा, विष्णुबाबु मिश्र, वेदप्रसाद उप्रेती, सञ्जयकुमार सिंह र सन्तुष्ट कुमार बस्नेत रहेका छन्।
संक्षिप्त सूचीमा परेका यी उम्मेदवारहरूलाई सरकारले यही माघ १४ गते ‘व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ता’का लागि बोलाएको छ। उक्त चरणमा उम्मेदवारहरूले निगमको भविष्य सुधार, व्यवस्थापन क्षमता र रणनीतिक योजनासम्बन्धी धारणा प्रस्तुत गर्नेछन्।
अन्तर्वार्ता तथा प्रस्तुतिकरण प्रक्रिया सम्पन्न भएपछि तीन जनाको नाम सिफारिस गरिनेछ। सिफारिस भएका तीनमध्येबाट एक जनालाई नेपाल वायुसेवा निगमको भावी महाप्रबन्धकका रूपमा नियुक्त गरिने व्यवस्था छ।

