एम.भी. दुगड ग्रुपद्वारा देशव्यापी रक्तदान, अध्यक्ष दुगडको ८०औं वर्षमा सामाजिक सन्देश

नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा करिब १५० वर्षदेखि सक्रिय एम.भी. दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडको ८०औं वर्ष प्रवेशको अवसरमा ग्रुपले देशव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको छ।

आइतबार “तपाईंको एक थोपा, कसैको जीवन” भन्ने मूल नारासहित सम्पन्न रक्तदान कार्यक्रममा एम.भी. दुगड ग्रुपका अटो डिभिजन र हाइड्रो डिभिजनका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नेपालभर सातै प्रदेशमा फैलिएका २० स्थानबाट आयोजना गरिएको यस कार्यक्रममा ५७८ जनाबाट सफलतापूर्वक ५७८ प्वाइन्ट रक्त संकलन गरिएको ग्रुपले जनाएको छ।

रक्तदान कार्यक्रम हाइड्रो डिभिजनको १ स्थान, अटोमोबाइल डिभिजनका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका १६ शाखा र ३ वटा डिलर केन्द्र गरी कुल २० स्थानमा सम्पन्न भएको थियो। संकलित रक्तबाट वीरगञ्ज, बुटवल र धनगढीमा रहेका ३ जना बिरामीको तत्कालै ज्यान जोगाउन सकिएको जनाइएको छ।

कार्यक्रममा ग्रुपका कर्मचारीहरूका साथै रक्तदान स्थल वरपरका इष्टमित्र, छिमेकी तथा विभिन्न वर्गका नागरिकहरूको पनि सक्रिय सहभागिता रहेको थियो। जनकल्याणकारी उद्देश्यले गरिएको यस प्रयासले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास ग्रुपले व्यक्त गरेको छ।

अध्यक्ष मोतीलाल दुगड ८०औं वर्षमा प्रवेश गरेको अवसरमा ग्रुपले शुभकामना व्यक्त गर्दै सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता दोहोर्‍याएको छ।

ग्रुपका उपाध्यक्ष विवेक दुगडका अनुसार एम.भी. दुगड ग्रुप अटो व्यवसाय, कृषि, जलविद्युत, कन्स्ट्रक्सनलगायत विभिन्न क्षेत्रमा सक्रिय छ। साथै बैंकिङ, जीवन तथा निर्जीवन बीमा, पुनर्बीमा र लघु बीमा कम्पनीहरूमा समेत ग्रुपको महत्वपूर्ण लगानी रहेको छ।

पूर्वाधार विकास र आर्थिक उन्नतिमा योगदान दिँदै आएको ग्रुपले सोलुखुम्बु र रामेछाप जिल्लामा निर्माण गरेका जलविद्युत आयोजनाबाट हाल १६१ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमार्फत आपूर्ति गरिरहेको छ। वर्षायाममा उत्पादित विद्युत भारत निर्यात भई नेपाल सरकारले विदेशी मुद्रा आर्जन गरिरहेको छ। यसका अतिरिक्त, दोलखा जिल्लामा करिब २०० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणाधीन रहेको जानकारी पनि दिइएको छ।