घरजग्गा कारोबारमा बृद्धि, पुसमा राजस्व संकलन ५ अर्ब पार

सुस्त रहेको घरजग्गा बजारमा पछिल्लो दुई महिनादेखि उल्लेख्य सुधार देखिएको छ। मंसिरको लयलाई पछ्याउँदै पुस महिनामा पनि घरजग्गा कारोबार र राजस्व संकलनमा वृद्धि भएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पुसमा घरजग्गा कारोबारबाट ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएको छ। यो गत वर्षको पुस (४ अर्ब २५ करोड २२ लाख) को तुलनामा २१.६५ प्रतिशतले बढी हो।

कारोबार र कित्ताकाटको अवस्था विभागको तथ्याङ्क अनुसार पुस महिनामा १ लाख ६२ हजार ८७७ पटक घरजग्गाको कारोबार भएको छ, जुन गत वर्षको तुलनामा १५.८० प्रतिशतले बढी हो। गत वर्ष पुसमा १ लाख ४० हजार ६२१ कारोबार भएका थिए।

त्यसैगरी, कित्ताकाटमा पनि वृद्धि देखिएको छ। पुसमा ५९ हजार ३०४ वटा जग्गाको टुक्रालाई कित्ताकाट गरी १ लाख ३३ हजार १३४ कित्ता कायम गरिएको छ। गत वर्ष पुसमा १ लाख १५ हजार १३४ कित्ता मात्रै कायम गरिएको थियो।

विशेषज्ञहरूले बजारमा आएको गतिशीलता सरकारले रोक्का गरेको कित्ताकाट २०८२ कात्तिक अन्तिम साताबाट खोल्दा सम्भव भएको बताउँछन्। आगामी असार मसान्तसम्म कित्ताकाट गर्न पाइने व्यवस्थाले गर्दा अबका ६–७ महिना कारोबार अझै बढ्ने अपेक्षा गरिएको छ।

रियलस्टेट व्यवसायीहरूका अनुसार कित्ताकाट खुलेसँगै बजारले गति लिएको छ। उनीहरूका अनुसार, २०७७ सालको ‘पिक’ समयमा जस्तै अबको केही महिना कारोबारले नयाँ उचाइ लिने सम्भावना छ। २०७७ चैतमा एकै महिना ८ अर्ब ५९ करोड राजस्व संकलन भएर रेकर्ड कायम भएको थियो।