एसपी विष्णुप्रसाद जोशी काठमाडौं महानगर प्रहरी प्रमुख नियुक्त

काठमाडौँ महानगरपालिका महानगर प्रहरी बलमा वरिष्ठ प्रहरी अधिकारी एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघि प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी राजुनाथ पाण्डेले राजीनामा दिएका थिए। वरिष्ठताको आधारमा जोशीले नगर प्रहरीको कमान्ड सम्हालेका हुन्।

एसपी जोशीले विगतमा काठमाडौँ महानगरको विपद् व्यवस्थापन, मध्य क्षेत्र कमान्ड लगायतका जिम्मेवारीहरु सम्हालिसकेका छन्। उनले पाण्डे निलम्बनको समयमा पनि नगर प्रहरीको जिम्मेवारी निमित्त रुपमा सम्हालिसकेका थिए।

राजनीतिक गतिविधिमा संलग्न हुने भन्दै मेयर बालेन्द्र शाहसँगै पाण्डेले हिजोबाट लागू हुने गरी राजीनामा दिएका थिए। राजीनामा स्वीकृत भएपछि जोशीले आज औपचारिक रूपमा नगर प्रहरी प्रमुखको पद सम्हालेका हुन्।

पदभार ग्रहण गर्दै उनले नगर प्रहरीका वरिष्ठ अधिकृतहरूसँग बैठक गरी निर्देशन दिएका छन्।