काभ्रेपलाञ्चोक । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का तर्फबाट काभ्रेपलाञ्चोक क्षेत्र नं. २ मा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका सफल पर्यटन व्यवसायी तथा समाजसेवी राजन थापा ले देशको वर्तमान अवस्था बदल्न नयाँ सोच र व्यवहारिक कार्ययोजनासहित राजनीतिमा होमिएको बताएका छन्। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरल, सहज र सबैलाई मिलाएर अघि बढ्ने राजनीतिक संस्कारको खाँचो रहेको उल्लेख गरे।
थापाले नेपालको अहिलेको मुख्य चुनौती रोजगारीको अभाव, कमजोर स्वास्थ्य सेवा र स्थानीय उत्पादनको बजार सुनिश्चितता भएको बताउँदै यी विषयलाई केन्द्रमा राखेर आफू चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे। “हाम्रो गाउँ–ठाउँमै रोजगारी सिर्जना गर्न सकियो भने युवाहरू विदेश जान बाध्य हुँदैनन्,” उनले भने, “स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नीति र बजारको व्यवस्था गर्न सके अर्थतन्त्र बलियो हुन्छ।”
पर्यटन व्यवसायमा लामो अनुभव हासिल गरेका थापाले काभ्रेपलाञ्चोकको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र धार्मिक स्थलहरूलाई व्यवस्थित रूपमा विकास गर्न सके यस क्षेत्रलाई समृद्धिको केन्द्र बनाउन सकिने धारणा राखे। उनका अनुसार पर्यटनको विकासले रोजगारी, उद्यमशीलता र स्थानीय उत्पादन सबैलाई एकैसाथ अघि बढाउन सक्छ।
समाजसेवाबाट राजनीतिमा आएका थापाले आफू शालीन, सरल र संवादमुखी राजनीतिमा विश्वास गर्ने बताए। “राजनीति टकराव होइन, समाधानको माध्यम हुनुपर्छ,” भन्दै उनले सबै वर्ग, समुदाय र पुस्तालाई समेटेर विकासको यात्रामा अघि बढ्ने प्रतिबद्धता जनाए। नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) बाट उम्मेदवारी दिएका थापाले काभ्रेपलाञ्चोक–२ लाई आत्मनिर्भर, उत्पादनमुखी र अवसरयुक्त क्षेत्र बनाउने लक्ष्यसहित जनतासँग मत माग्दै मैदानमा उत्रिएको बताएका छन्।
