निजगढ, बर्दिवास, कमलामाई लगायतका साना तथा समुदायमा आधारित खानेपानी संस्थाहरूका प्रतिनिधिहरूसँग राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघले गहन छलफल सम्पन्न गरेको छ। छलफलमा खानेपानी तथा सरसफाइ क्षेत्रका समसामयिक चुनौतीहरू र संस्थागत समस्याहरूलाई केन्द्रमा राखी विचार–विमर्श गरिएको थियो।
पदाधिकारीहरूले स्रोत संरक्षण, गुणस्तरीय पानी आपूर्ति, वित्तीय दिगोपन, प्राविधिक दक्षता अभाव, उपभोक्ता व्यवस्थापन, नीतिगत जटिलता र स्थानीय तहसँगको समन्वयजस्ता मुद्दाहरूमा आफ्ना अनुभव र सुझावहरू आदान–प्रदान गरेका थिए। साथै साना खानेपानी संस्थाहरूको क्षमता विकास, सुशासन, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्ने उपायहरूमा पनि ध्यान केन्द्रित गरिएको थियो।
महासंघका पदाधिकारीहरूले संघीय संरचनामा खानेपानी तथा सरसफाइ संस्थाहरूको भूमिकालाई अझ प्रभावकारी बनाउने, नीति निर्माण तहमा आवाज बलियो गर्ने र प्रदेश तथा स्थानीय तहसँग सहकार्य बढाउने आवश्यकता औंल्याए। सिमरा खानेपानी संस्थाले आफ्ना अनुभव र अभ्यास प्रस्तुत गर्दै दीर्घकालीन समाधानका लागि साझा पहल आवश्यक रहेको कुरा बताएको थियो।
छलफलले खानेपानी तथा सरसफाइ क्षेत्रका साझा समस्या पहिचान, आपसी सहकार्य र समन्वय मजबुत बनाउने साथै संस्थागत सुधारका लागि मार्गचित्र तयार गर्ने महत्वपूर्ण योगदान दिएको निष्कर्ष निकालिएको छ।

