काठमाडौं । सिद्धार्थ बैंक र आईएमई हस्पिटालिटी ग्रुप बीच बैंकका ग्राहकलाई विभिन्न आतिथ्य सेवामा छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार, सिद्धार्थ बैंकका ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा आईएमई हस्पिटालिटी ग्रुपअन्तर्गतका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा केबलकार सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
छुट उपलब्ध हुने सेवाहरूमा लाजिम्पाटस्थित होटेल ले हिमालय र साके एण्ड फेङ्ग रेस्टुरेन्ट, हर्कपुर र बागलुङका इला कम्फर्ट, मौलाकालीस्थित इला रिसोर्ट, मौलाकाली केबलकार, लुम्बिनी केबलकार, तथा पोखरास्थित द् लेक रिट्रिट समावेश छन्।
यस सहकार्यले ग्राहकलाई प्रत्यक्ष आर्थिक लाभ उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल भुक्तानीतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
सम्झौता तथा सेवासम्बन्धी थप जानकारीका लागि सिद्धार्थ बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।