चिया–अलैँचीले चम्कियो नेपालको निर्यात

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिना (साउन–पुस) मा नेपालको वैदेशिक व्यापारमा सकारात्मक संकेत देखिएको छ । विशेषगरी कृषि तथा स्वदेशी कच्चा पदार्थमा आधारित वस्तुहरूको निर्यात उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरूमध्ये चिया र अलैँचीले मात्रै झन्डै १० अर्ब रुपैयाँको हिस्सा ओगटेका छन् ।

पुस मसान्तसम्ममा चिया र अलैँची निर्यातबाट कुल ९ अर्ब ४० करोड ७२ लाख रुपैयाँ बराबरको वैदेशिक मुद्रा भित्रिएको छ । यसमध्ये अलैँचीको योगदान सबैभन्दा बढी देखिएको छ । छ महिनाको अवधिमा ३४ लाख ६१ हजार ३५० केजी अलैँची निर्यात हुँदा ७ अर्ब १९ करोड ९५ लाख रुपैयाँ आम्दानी भएको विभागले जनाएको छ ।

त्यसैगरी, नेपाली चियाको निर्यात पनि अर्बौँ रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा २ अर्ब २० करोड ७७ लाख रुपैयाँ बराबरको १ करोड १५ लाख ९४ हजार ३८ केजी कालो तथा अन्य प्रशोधित चिया अन्तर्राष्ट्रिय बजारमा निर्यात भएको छ । चिया र अलैँची दुवै वस्तु नेपालको कृषिजन्य निर्यातका मुख्य आधारका रूपमा स्थापित हुँदै गएका छन् ।

कृषिजन्य वस्तुसँगै औद्योगिक तथा हस्तकलाका सामग्रीहरूको निर्यात पनि उल्लेख्य देखिएको छ । निर्यात हुने ‘टप १०’ वस्तुको सूचीमा प्रशोधित तेलदेखि ऊनी उत्पादनसम्म समेटिएका छन् ।

छ महिनामा सबैभन्दा बढी भटमासको तेल निर्यात भएको छ । यस अवधिमा ५६ अर्ब ८ करोड २४ लाख रुपैयाँ बराबरको २७ करोड २२ लाख ५७ हजार ९१८ केजी भटमासको तेल विदेश पठाइएको छ ।

तेस्रो स्थानमा गलैँचा परेको छ । छ महिनामा ४ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको १ लाख ९१ हजार ७५ स्क्वायर मिटर गलैँचा निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, चौथो नम्बरमा सूर्यमुखी तेल रहेको छ । समीक्षा अवधिमा ४ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ बराबरको २ करोड २२ लाख ६७ हजार १४८ किलोलिटर सूर्यमुखी तेल निर्यात भएको छ ।

पाँचौँ स्थानमा जुटका कपडाहरू परेका छन् । छ महिनामा ३ अर्ब ४६ करोड १३ लाख रुपैयाँ बराबरको ५ करोड ६६ लाख ४४ हजार ८७३ स्क्वायर मिटर जुटजन्य कपडा निर्यात भएको छ ।

छैटौँ नम्बरमा फेल्टका सामानहरू (सजावटका सामग्री, जुत्ता र खेलौना) परेका छन् । यस अवधिमा २ अर्ब ९० करोड १० लाख रुपैयाँ बराबरको ९ लाख ६९ हजार ७३ केजी फेल्टका सामग्री निर्यात भएको विभागको तथ्यांकले देखाउँछ ।

सातौँ स्थानमा पाम आयल रहेको छ । छ महिनामा २ अर्ब ८० करोड ५२ लाख रुपैयाँ बराबरको १ करोड ५४ लाख ६० हजार ७६४ किलोलिटर पाम आयल निर्यात भएको छ ।

आठौँ नम्बरमा पोलिएस्टर धागो परेको छ । पाँच महिनाको अवधिमा २ अर्ब ४५ करोड ३२ लाख रुपैयाँ बराबरको १ करोड १५ लाख ९४ हजार ३८ केजी पोलिएस्टर धागो निर्यात भएको छ ।

निर्यात हुने शीर्ष १० वस्तुमा ऊनी सल र मफलर पनि समावेश छन् । छ महिनामा २ अर्ब ११ करोड ८७ लाख रुपैयाँ बराबरको १५ लाख २१ हजार ४८३ थान ऊनी सल तथा मफलर विदेश पठाइएको भन्सार विभागले जनाएको छ ।