तरलताबाट उत्पादनतर्फ बैंकिङको मोड

राष्ट्रिय वाणिज्य बैंक आजबाट ६० वर्ष पूरा गरी ६१औँ वर्षमा प्रवेश गरेको छ। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको यो बैंकले ६ दशक लामो यात्रा पार गर्दै गर्दा नेपाली बैंकिङ क्षेत्र भने एक संवेदनशील र निर्णायक मोडमा उभिएको छ।

लामो समयदेखि बैंकिङ प्रणालीमा अत्यधिक तरलता रहँदै आएको छ। ब्याजदर निरन्तर घट्दो क्रममा भए पनि लगानीको गति भने अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। यही पृष्ठभूमिमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले बैंकिङ क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे स्पष्ट धारणा सार्वजनिक गरेका छन्।

अर्थपथसँगको कुराकानीमा सीईओ खनालले अहिलेको बैंकिङ क्षेत्रको सबैभन्दा ठूलो चुनौती अत्यधिक तरलता नै भएको बताएका छन्। उनका अनुसार बजारमा पर्याप्त तरलता हुँदाहुँदै पनि व्यवसायीहरूमा कर्जा लिने आत्मविश्वास बढ्न नसक्दा लगानीका नयाँ अवसर सिर्जना हुन सकेका छैनन्। निर्वाचनको वातावरणले पनि उद्योगी–व्यवसायीहरूलाई नयाँ विस्तारभन्दा नियमित काममै सीमित बनाएको उनको भनाइ छ।

उनले निर्वाचनपछि स्थिर सरकार बनेमा आर्थिक वातावरण सकारात्मक हुने र तरलताको सही सदुपयोग हुन सक्ने अपेक्षा व्यक्त गरे। “स्थिरता आयो भने व्यवसायीमा आत्मविश्वास बढ्छ र लगानी पनि गति लिन्छ,” उनले भने।

सीईओ खनालका अनुसार हाल कर्जाको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को हाराहारीमा पुगेको छ। अब यो कर्जाले प्रतिफल दिनु अनिवार्य भइसकेको भन्दै उनले व्यापारमुखीभन्दा उत्पादनमुखी क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याए। उत्पादनमुखी लगानीले नियमित आम्दानी र रोजगारी सिर्जना गर्ने उनको धारणा छ।

व्यक्तिगत कर्जा र सेयर कर्जामा केही सहजता आए पनि यसले अर्थतन्त्रलाई दीर्घकालीन रूपमा उत्पादनसँग जोड्न नसक्ने उनको भनाइ छ। त्यसका लागि साना तथा मझौला उद्योग, किसान र ग्रामीण अर्थतन्त्रलाई केन्द्रमा राख्नुपर्ने उनले बताए।

खनालले सम्भावनायुक्त क्षेत्रका रूपमा खानी उत्खनन, वैज्ञानिक वन व्यवस्थापन, जलविद्युत र कृषि आत्मनिर्भरतालाई उल्लेख गरे। चामल, धान, दलहन र तेलहनजस्ता वस्तुमा आत्मनिर्भर बन्न सके आयात घट्ने र देशभित्रै उत्पादन बढ्ने उनले बताए। साथै, बुढीगण्डकी र माथिल्लो अरुणजस्ता ठूला पूर्वाधार आयोजनामा लगानी बढाउन सके देशको आर्थिक स्वरूप परिवर्तन हुन सक्ने उनको विश्वास छ।

पर्यटन क्षेत्रबारे बोल्दै उनले हिमाल र संस्कृतिसँगै धार्मिक तथा सांस्कृतिक गन्तव्यहरूको व्यवस्थित प्रवर्द्धन आवश्यक रहेको बताए। विशेषगरी भारतजस्ता छिमेकी मुलुकमा लक्षित प्रचार र सुरक्षित तथा छिटो सडक पूर्वाधार विकास अपरिहार्य रहेको उनको धारणा छ।

राष्ट्रिय वाणिज्य बैंकले पछिल्ला ६ महिनामा करिब १९ अर्ब रुपैयाँ कर्जा लगानी वृद्धि गरेको छ। बैंकको आधार ब्याजदर कम भएकाले कर्जा सस्तो भएको र साना किसान तथा ग्रामीण क्षेत्रमा करिब ७.७५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह भइरहेको सीईओ खनालले जानकारी दिए। बैंकले किसान कर्जा, वैदेशिक रोजगार कर्जा, साना तथा मझौला उद्यम, ऊर्जा, कृषि र विपन्न वर्गमा केन्द्रीय बैंकका मापदण्डअनुसार लगानी गर्दै आएको छ।

सरकारी बैंक भएकाले सेवा प्रक्रिया झन्झटिलो भएको गुनासोप्रति प्रतिक्रिया दिँदै खनालले कागजात प्रक्रिया क्रमशः सरल बनाइँदै लगिएको बताए। कर्मचारीलाई निजामती मानसिकताबाट व्यावसायिक कार्यसंस्कृतितर्फ लैजान निरन्तर प्रयास भइरहेको उनको भनाइ छ।

कर्जाको सुरक्षाबारे बोल्दै उनले हाल बैंकको खराब कर्जा (एनपीएल) अवस्था नियन्त्रणमै रहेको बताए। विदेशी परामर्शदाताबाट कर्जा पोर्टफोलियोको समीक्षा गरिएको र बिना धितो कर्जा नदिने नीतिका कारण बैंकको कर्जा समग्रमा सुरक्षित रहेको उनको दाबी छ। जग्गाको मूल्य घट्दा केही जोखिम देखिए पनि अत्यधिक तरलताका कारण त्यसको व्यवस्थापन सम्भव भएको उनले बताए।

६१औँ वर्षमा प्रवेश गर्दै गर्दा राष्ट्रिय वाणिज्य बैंकले तरलताबाट उत्पादनतर्फ अर्थतन्त्रलाई मोड्ने दिशामा आफ्नो भूमिकालाई थप सशक्त बनाउने संकेत दिएको छ।