हेटौंडा औद्योगिक क्षेत्रमा रहेको महाशक्ति साबुन उद्योगको भण्डारगृहमा आगलागी भएको छ। उद्योगको स्टोर रुममा राखिएका साबुन र प्याकेजिङका कार्टुन जलेको बताइएको छ।
स्थानीय प्रहरीले जनाएको छ कि जस्तापाताबाट बनेको स्टोर रुममा बिजुलीको तार सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ। अहिलेसम्म यस घटनामा कुनै मानवीय क्षति भएको छैन।
आगलागी नियन्त्रणका लागि हेटौंडाको पशुपतिनगर प्रहरी, सशस्त्र प्रहरी बल नेपालको १४ नम्बर गण (हेटौंडा), हेटौँडा उपमहानगरपालिकाका दुई दमकल र स्थानीयहरूको सहयोग भइरहेको छ।
आगलागीबाट कति आर्थिक क्षति भएको हो भन्ने विवरण अझै खुल्न बाँकी रहेको छ। स्थानीय सुरक्षा निकायहरूले आगो नियन्त्रण र थप जोखिम न्यूनीकरणमा जोड दिइरहेको जानकारी दिएका छन्।
