सरकारी ढुकुटीको रकम लामो समयसम्म नतिरी बसेकाहरूका लागि महालेखा नियन्त्रक कार्यालयले कडा चेतावनी दिएको छ। पटक–पटक सूचना प्रकाशित गर्दा र व्यक्तिगत पत्राचार गर्दा समेत अटेर गरेपछि कार्यालयले अब ऋणीहरूको चल तथा अचल सम्पत्ति रोक्का गरी बाँकी रकम असुल गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।
बबरमहलस्थित महालेखा नियन्त्रक कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै सरकारी बक्यौता नतिर्ने व्यक्तिहरूको तीनपुस्ते विवरणसहितको सूची सार्वजनिक गरेको छ। यसअघि पनि कार्यालयले आफ्नो वेबसाइटमार्फत ऋणीहरूको नाम सार्वजनिक गर्दै सम्पर्कमा आउन आग्रह गरेको थियो। तर बारम्बारको आग्रहलाई बेवास्ता गरेपछि थप कडा कदम चाल्न बाध्य भएको बताइएको छ।
सार्वजनिक सूचनामा उल्लेख भएअनुसार अबको ३५ दिनभित्र सम्बन्धित व्यक्ति वा निकाय कार्यालयमा सम्पर्कमा नआए र आफूले तिर्नुपर्ने बाँकी रकम तथा नियमानुसारको ब्याज भुक्तानी नगरेमा प्रचलित कानुनअनुसार सम्पत्ति दाबी तथा रोक्काको प्रक्रिया सुरु गरिनेछ। सरकारी बाँकी असुलीका क्रममा सम्बन्धित व्यक्तिको आर्थिक, सामाजिक वा व्यावसायिक प्रतिष्ठामा पुग्ने क्षतिप्रति कार्यालय जिम्मेवार नहुने पनि स्पष्ट गरिएको छ।
महालेखा नियन्त्रक कार्यालयले जनाएको छ कि लामो समयदेखि सरकारी बक्यौता नतिर्नेहरूको संख्या बढ्दै गएपछि राज्यको वित्तीय अनुशासनमा चुनौती देखिएको छ। त्यसैले सरकारी राजस्व संरक्षण र कानुनी दायरामा सबैलाई ल्याउन कडाइ गरिएको हो। तोकिएको समयसीमाभित्र बक्यौता फरफारक नगर्नेहरूको हकमा कानुनी कारबाही तत्काल अघि बढाइने कार्यालयले जानकारी दिएको छ।

