गरिमा विकास बैंकले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघमा आबद्ध चार्टर्ड एकाउण्टेन्टहरूलाई आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधा उपलब्ध गराउने भएको छ। यस सम्बन्धमा बैंक र संघबीच औपचारिक सम्झौता भएको छ। सम्झौतामा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र संघको तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार संघमा आबद्ध सदस्यहरूले न्यूनतम कागजातको आधारमा रु. ७५ हजारदेखि रु. ५ लाखसम्मको क्रेडिट कार्ड सुविधा पाउनेछन्। साथै आवश्यक प्रक्रिया पूरा गरेपछि बिना धितो रु. १५ लाखसम्म व्यक्तिगत प्रोफेसनल कर्जा प्राप्त गर्न सक्नेछन्।
यसैगरी, बैंकले चार्टर्ड एकाउण्टेन्ट सदस्यहरूलाई आकर्षक ब्याजदरमा घर कर्जा र सवारी साधन कर्जा पनि उपलब्ध गराउनेछ। हाल बैंकले “अब आफ्नै घर” भन्ने नाराका साथ ६.४९ प्रतिशतदेखि घर कर्जा र ५.९९ प्रतिशतदेखि एसएमई तथा व्यवसाय कर्जा प्रवाह गर्दै आएको छ।
गरिमा विकास बैंक हाल देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम र नवीनतम डिजिटल बैंकिङ मार्फत करिब ९ लाख ५० हजार ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ।
