जगदम्बा हयर पर्चेजको नाफा र कर्जा पोर्टफोलियोमा उत्साहजनक वृद्धि

प्रतिष्ठित व्यावसायिक घराना शंकर ग्रुपद्वारा प्रवर्द्धित जगदम्बा हयर पर्चेज लिमिटेडको आर्थिक प्रदर्शनमा उत्साहजनक सुधार देखिएको छ। कम्पनीको आर्थिक वर्ष २०२४/२५ मा कर्जा पोर्टफोलियो ३४ प्रतिशत र खुद नाफा करिब १०२ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीले कम मूल्यका उपभोग्य इलेक्ट्रोनिक्स र मोबाइल खण्डमा गरेको विस्तार, साथै बजारमा रहेको तरलताको वृद्धि र घटेको ब्याज खर्चले नाफामा योगदान पुर्‍याएको बताइएको छ। वित्तीय वर्ष २०२४/२५ मा कम्पनीले १ अर्ब ५३ करोड २० लाख रुपैयाँ बराबर कर्जा लगानी गरेको छ।

कम्पनीको कर्जा भुक्तानी क्षमता १.८३ गुणा रहेको छ भने कुल कर्जा लगानीको लगभग ५० प्रतिशत बागमती प्रदेशमा केन्द्रित छ। यस्तै निष्क्रिय कर्जा ४.४२ प्रतिशत र ९० दिनभन्दा बढी भाखा नाघेको कर्जा ६.३८ प्रतिशत पुगेको छ।

कम्पनीले २४ करोड २० लाख रुपैयाँ बराबरको जगेडा कोष निर्माण गरेको छ र गियरिङ अनुपात १.४३ गुणा रहेको छ। यसले भविष्यमा थप व्यवसाय विस्तारका लागि पर्याप्त अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

इन्फोमेरिक्स नेपालले कम्पनीको दीर्घकालीन बैंक सुविधा ‘आईआरएन बीबी’ र अल्पकालीन बैंक सुविधा ‘आईआरएन ए फोर’ रेटिङ प्रदान गरेको छ। शंकर ग्रुपको अनुभव र साहिल अग्रवालको नेतृत्वले कम्पनीलाई वित्तीय लचकता दिएको भए तापनि भौगोलिक एकाधिकार र बढ्दो निष्क्रिय कर्जा मुख्य चुनौती बनेको देखिन्छ।