अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार दक्षिण कोरियासँगको द्विपक्षीय व्यापार सम्झौता पालन नभएको आरोप लगाउँदै केही कोरियाली सामानमा भन्सार शुल्क १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउने निर्णय गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जालमा कोरियाली व्यवस्थापिकाले अमेरिकासँग गरेको ऐतिहासिक व्यापार सम्झौता लागू नगरेको बताएका छन्। उनका अनुसार सवारी साधन, काठ, औषधि र अन्य सबै पारस्परिक शुल्कहरू अब २५ प्रतिशत लाग्नेछन्।
उक्त सम्झौता अनुसार अक्टोबर २०२५ मा ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङबीच अमेरिका दक्षिण कोरियाबाट हुने आयातमा १५ प्रतिशतको भन्सार शुल्क लगाउने सहमति भएको थियो। बदलामा, दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो।
ट्रम्पले भने, “दक्षिण कोरियाले सम्झौता पालन नगरेको कारण यो कदम उठाउन बाध्य भएको छु।” यो निर्णयले दुवै देशबीचको व्यापार सम्बन्धमा नयाँ तनाव उत्पन्न हुने देखिन्छ।
-
स्रोत: न्युज एजेन्सी नेपाल
