चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त)सम्म सिन्धु विकास बैंक लिमिटेडको खुद नाफामा गिरावट आएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंक १ करोड ५४ लाख ६८ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म बैंक ४ करोड ८७ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको खुद ब्याज आम्दानी पनि १४.४३ प्रतिशतले घटेर ८ करोड ८ लाख ५ हजार रुपैयाँमा सीमित भएको छ। यसअघि यही अवधिमा ब्याज आम्दानी ९ करोड ४४ लाख ४४ हजार रुपैयाँ थियो।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि ऋणात्मक देखिएको छ। अघिल्लो वर्षको ६ करोड ९५ लाख ७७ हजार रुपैयाँको मुनाफासँग तुलना गर्दा यस वर्ष १ करोड ५५ लाख १८ हजार रुपैयाँ नोक्सानीमा छ।
त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा २३ करोड ९५ लाख ८२ हजार रुपैयाँ ऋणात्मक रहेको छ भने प्रति शेयर आम्दानी (EPS) ५.५७ रुपैयाँ ऋणात्मक छ। बैंकको प्रति शेयर नेटवर्थ ९४.१८ रुपैयाँ रहेको छ।
पुस मसान्तसम्म बैंकको चुक्तापुँजी ५५ करोड ७४ लाख ५८ हजार, जगेडा कोष १९ करोड ६१ लाख ५७ हजार र रिटेन्ड अर्निङ २२ करोड ६५ लाख ८२ हजार ऋणात्मक रहेको छ।
बैंकले ५ अर्ब ६६ करोड ७ लाख २३ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २९ करोड ६३ लाख ९४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ६.३८ प्रतिशत पुगेको छ।
