चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा एभरेष्ट बैंक लिमिटेडले आफ्नो खुद नाफामा सामान्य तर स्थिर वृद्धि गरेको छ। बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामा बैंकले २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को यही अवधिसम्म बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा बैंकको खुद नाफा वर्षेनी २.०४ प्रतिशतले बढेको देखिन्छ।
साउनदेखि पुस मसान्तसम्म बैंकको सञ्चालन मुनाफा पनि २.०६ प्रतिशतले वृद्धि भई ३ अर्ब १७ करोड १६ लाख रुपैयाँ पुगेको छ। यद्यपि, यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज भने अघिल्लो वर्षको ३४ करोड ९५ लाख रुपैयाँबाट बढेर ५६ करोड २७ लाख रुपैयाँ पुगेको छ, जसले नाफामा केही दबाब सिर्जना गरेको देखिन्छ।
आम्दानीतर्फ भने बैंकले सकारात्मक सुधार देखाएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.९६ प्रतिशतले बढेर ४ अर्ब ५७ करोड २९ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, खुद फि तथा कमिसन आम्दानी पनि २०.३८ प्रतिशतले बढेर ९२ करोड ९ लाख रुपैयाँ कायम भएको छ।
वितरणयोग्य मुनाफाको अवस्था मजबुत देखिएको छ। पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ पुगेको छ। वितरणयोग्य प्रतिशेयर आम्दानी १८ रुपैयाँ १४ पैसाले वृद्धि भई ४८ रुपैयाँ ७२ पैसा कायम भएको छ।
वित्तीय सूचकहरूअनुसार बैंकको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ८६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.३९ गुणा कायम भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ १५ पैसा पुगेको छ।
यस अवधिमा बैंकको आधार दर घटेर ४.७५ प्रतिशतमा झरेको छ भने खराब कर्जा अनुपात सामान्य रूपमा बढेर ०.६८ प्रतिशत पुगेको छ, जुन अझै पनि न्यून स्तरमै रहेको देखिन्छ।
एभरेष्ट बैंकको चुक्ता पूँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ रहेको छ। बैंकको शेयर प्रिमियम खातामा २३ करोड ८४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ तथा अन्य जगेडा कोषमा १४ अर्ब ९४ करोड ८३ लाख रुपैयाँ सञ्चित छ।
व्यवसाय विस्तारतर्फ, बैंकले यस अवधिमा ३ खर्ब ४ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३६ अर्ब ४२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
