रामेछाप । रामेछापको शैलुङ क्षेत्रमा हिजोबाट हिउँ पर्न थालेको छ ।

शैलुङमा यो यस वर्षकै पहिलो हिमपात हो । हिउँले शैलुङ क्षेत्रका डडुवा, गौश्वारा लगायतका गाउँ र डाँडाहरू सेताम्मे भएका छन् । हिउँ परेसँगै शैलुङ क्षेत्र रमणीय भएको छ । शैलुङको खोलाखर्क, बागढुङ्गा लगायतका क्षेत्रमा हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले बताए ।

हिउँ परेसँगै स्थानीय कृषकहरू पनि खुसी भएका छन्। हिउँले माटोलाई उर्वर बनाउने तथा खेतबारीमा आवश्यक चिस्यान पुग्ने भएकोले उत्पादन बढ्ने किसानहरू बताउँछन् । ‘हिउँले माटोको उर्वराशक्ति बढाउँछ, बालीमा लाग्ने कीरा तथा रोग कम हुन्छ ।’ उनले भने।

आलु र तरकारी शैलुङ क्षेत्रको मुख्य उत्पादन हो । हिउँले आलु उत्पादनमा वृद्धि हुने किसानहरूको भनाइ छ ।
हिमपातसँगै शैलुङमा हिउँ खेल्न आउने पर्यटकको सङ्ख्या पनि बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो समय शैलुङ काठमाडौं र आसपासका क्षेत्रबाट घुम्न जाने आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ ।