नेपाल उद्योग वाणिज्य संघ, काठमाडौँ (एनसीआईसीके) द्वारा आयोजना गरिएको “काठमाडौं महोत्सव २०८२ तथा काठमाडौं बिजनेश एक्सपो २०२६” को दोस्रो दिन दर्शक, अवलोकनकर्ता तथा व्यवसायीहरूको उल्लेखनीय सहभागितासहित उत्साहजनक रूपमा सम्पन्न भएको छ।
दोस्रो दिन काठमाडौँ उपत्यका तथा विभिन्न जिल्लाबाट आगन्तुकहरूको बाक्लो उपस्थिति देखिएको थियो। महोत्सवमा स्वदेशी तथा विदेशी उत्पादन, महिला उद्यमीहरूद्वारा उत्पादित सिपमूलक वस्तु, ‘एक वडा–एक उत्पादन’ अवधारणाअन्तर्गतका सामग्री, हस्तकला, कृषि तथा घरेलु उद्योगका उत्पादन प्रतिको दर्शकको विशेष आकर्षण रहेको थियो।
प्रदर्शकहरूले प्रत्यक्ष बिक्री, व्यावसायिक नेटवर्क विस्तार र नयाँ बजारको सम्भावना देख्दा, विशेष छुट तथा अफरका कारण दोस्रो दिन उल्लेखनीय कारोबार पनि भएको छ।
त्यस्तै, महोत्सवमा रैथाने खानाका परिकार, सांस्कृतिक झाँकी, लोकनृत्य, संगीत र विविध मनोरञ्जनात्मक कार्यक्रमहरू प्रमुख आकर्षण बनेका छन्। दोस्रो दिनको सहभागिताले महोत्सवको उद्देश्य स्थानीय उत्पादन प्रवद्र्धन, महिला उद्यमशीलता सशक्तीकरण र निजी क्षेत्रको मनोबल अभिवृद्धितर्फ सफलतापूर्वक अघि बढिरहेको देखाएको छ।
चार दिनसम्म सञ्चालन हुने यस महोत्सवका आगामी दिनहरूमा थप सांस्कृतिक कार्यक्रम, व्यवसायिक अन्तरक्रिया र विशेष गतिविधिहरू आयोजना गरिने जनाइएको छ। आयोजकहरूले महोत्सवलाई स्थानीय उत्पादन र उद्यमशीलता प्रवद्र्धनका लागि प्रभावकारी माध्यम बनाउने लक्ष्य राखेका छन्।
