नेक्सजेनले ‘डबल बी’ रेटिङ पाउँदै आईपीओ तयारी पूरा गर्यो

सर्वसाधारणका लागि प्राथमिक शेयर (IPO) निष्कासनको तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले ‘डबल बी’ (BB) रेटिङ प्राप्त गरेको छ। केयर रेटिङ नेपाल लिमिटेडको माघ १४ गतेको निर्णयअनुसार कम्पनीलाई ‘केयर एनपी बीबी’ रेटिङ प्रदान गरिएको हो।

नेक्सजेन ५० करोड संस्थापक पूँजी संकलन गरेर लगानी कम्पनीको रूपमा कार्यरत छ। कम्पनीले २०८२ पुस मसान्तभित्र संस्थापकहरूबाट पूँजी जुटाइसकेको छ। सन् २०१७ (वि.सं. २०७४) मा स्थापना भएको यस कम्पनी विगत ६ वर्षदेखि निरन्तर खुद मुनाफामा सञ्चालन भइरहेको छ। कम्पनीको नेटवर्थ अंकित मूल्यभन्दा बढी रहेको छ भने विगतका वर्षहरूमा सेयरधनीहरूलाई लाभांश पनि वितरण भइसकेको छ।

कम्पनीको विशेष साधारण सभाले माघ ५ गते सर्वसाधारणमा कुल पूँजीको २० प्रतिशत शेयर जारी गर्ने निर्णय गरेको थियो। यस निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ६२ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

नेक्सजेनले लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक बनाएर गत मंसिर ८ गते शेयर निष्कासनका लागि सम्झौता गरेको थियो। रेटिङ प्रक्रिया पूरा भएसँगै कम्पनी अब नियामक निकायबाट स्वीकृति पाउने तयारीमा छ।

नेक्सजेनको यो कदमले IPO बजारमा स्थिर र भरोसायोग्य विकल्पको रूपमा आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।