काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आज माघ १८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन सुरु गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत बराबरको १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ मूल्यको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोअनुसार पहिलो चरणमा ६ लाख ८९ हजार ६७५ कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र ६८ हजार ९६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन भई बाँडफाँट सम्पन्न भइसकेको छ।
अब दोस्रो चरणमा कम्पनीले १३ हजार ७९३ कित्ता शेयर कर्मचारीहरूका लागि र ३४ हजार ४८४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँ बराबरको ५ लाख ७२ हजार ४३१ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।
यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा माघ २१ गते र ढिलोमा फागुन ३ गते बन्द हुने कम्पनीले जनाएको छ।
कम्पनीको आईपीओले ऊर्जा क्षेत्रमा लगानीको अवसर विस्तार गर्नुका साथै सर्वसाधारणलाई जलविद्युत् क्षेत्रमा सहभागिता बढाउने अपेक्षा गरिएको छ।
