शिवम प्लास्टिकको कारोबार उकालो

काठमाडौं । विराटनगरमा प्लान्ट स्थापना गरी पोलिप्रोपिलिन ओभन फेब्रिक तथा एचडीपीई ओभन त्रिपाल उत्पादन गर्दै आएको शिवम प्लास्टिक इण्डस्ट्री लिमिटेडले आफ्नो व्यावसायिक कारोबार उल्लेख्य रूपमा विस्तार गरेको छ।

सन् २००० मा निजी कम्पनीका रूपमा स्थापना भई सन् २०२१ मा पब्लिक लिमिटेडमा रूपान्तरण भएको यस उद्योगले पछिल्लो एक वर्षमा आफ्नो व्यापार २७ प्रतिशतभन्दा बढीले बढाएको छ। कम्पनीले आर्थिक वर्ष २०२५ मा १ अर्ब ८५ करोड ४० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ, जसमा कुल वार्षिक बिक्रीको करिब ६० प्रतिशत हिस्सा भारततर्फ निर्यातबाट आएको छ।

इक्रा नेपालको प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०२४ मा कम्पनीको कारोबार १ अर्ब ४५ करोड ८० लाख रुपैयाँमा सीमित थियो भने सन् २०२३ मा १ अर्ब ३५ करोड ९० लाख रुपैयाँको व्यापार भएको थियो। चालु आर्थिक वर्ष २०२६ को पहिलो छ महिनामै कम्पनीले ९२ करोड रुपैयाँको कारोबार गरिसकेकाले यस वर्ष पनि व्यापारको गति सकारात्मक रहने संकेत देखिएको छ।

यद्यपि, कच्चा पदार्थको मूल्य वृद्धि भएपछि कम्पनीको नाफा मार्जिनमा केही दबाब देखिएको छ। आर्थिक वर्ष २०२४ मा ४.९४ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा घटेर ४.२४ प्रतिशतमा झरेको छ। यस अवधिमा कम्पनीको कुल ऋण–नेटवर्थ अनुपात २.१२ गुणाबाट बढेर २.६८ गुणा पुगेको छ भने ब्याज कभरेज अनुपात १.५६ गुणामा स्थिर रहेको छ। चालु अनुपात ०.९७ बाट घटेर ०.८२ पुगेको छ।

यिनै वित्तीय सूचक, सन्तोषजनक सञ्चालन प्रदर्शन तथा प्रवर्द्धकहरूको लामो अनुभवलाई आधार मान्दै केयर रेटिङ नेपालले कम्पनीको कुल १ अर्ब ५८ करोड ३५ लाख रुपैयाँ बराबरको बैंकिङ सुविधाका लागि रेटिङ पुनःपुष्टि गरेको छ। यसअनुसार २४ करोड ३५ लाख रुपैयाँ बराबरको दीर्घकालीन कर्जाका लागि ‘केयर–एनपी डबल बी प्लस’ र १ अर्ब ३४ करोड रुपैयाँ बराबरको अल्पकालीन कर्जाका लागि ‘केयर–एनपी ए फोर प्लस’ रेटिङ प्रदान गरिएको छ।

गोल्छा र अग्रवाल समूहको लगानी रहेको यस उद्योगले आफ्नो उत्पादनको करिब ६० प्रतिशत हिस्सा भारततर्फ निर्यात गर्दै आएको छ। विराटनगरको भौगोलिक अवस्थिति र भारतसँगको निकटताका कारण ढुवानी खर्चमा हुने बचत कम्पनीको प्रमुख सबल पक्ष बनेको छ।

तर, शतप्रतिशत कच्चा पदार्थ आयातमा निर्भरता, डलर विनिमय दरको उतारचढाव तथा उच्च कार्यशील पूँजी आवश्यकता कम्पनीका मुख्य चुनौतीका रूपमा रहेका छन्। हाल शिवम प्लास्टिकसँग वार्षिक ११ हजार १२५ मेट्रिक टन फेब्रिक र ४ हजार ६२० मेट्रिक टन त्रिपाल उत्पादन गर्ने क्षमता छ। भारतसँगको व्यापारिक नीति र कच्चा पदार्थको मूल्यलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्दै बजार विस्तार गर्ने रणनीतिमा कम्पनी अघि बढिरहेको छ।