काठमाडौँ । सर्वोच्च अदालतले शरद ओझासम्बन्धी मुद्दामा यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने भन्दै नयाँ आदेश जारी गरेको छ। अदालतको यो आदेशसँगै मुद्दा अब मूल फैसलातर्फ प्रवेश गरेको छ।
आइतबार अन्तरिम आदेशको निरन्तरताबारे भएको पेशीमा न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले “अन्तरिम आदेश निरन्तरता नहुने” भनी आदेश दिएको हो। यससँगै गत भदौ २३ मा जारी अल्पकालीन अन्तरिम आदेश स्वतः अन्त्य भएको छ।
सरकारले ओझालाई पदमुक्त गरी नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु गरेपछि उनले गत भदौ २२ मा सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। सोही मुद्दामा भोलिपल्ट न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो, जसलाई हालको आदेशले खारेज गरेको हो।
अब उक्त मुद्दामा थप सुनुवाइ हुँदै अन्तिम फैसला आउनेछ। फैसलापछि ओझा पुनः सम्बन्धित प्राधिकरणमा फर्कन पाउने वा नपाउने भन्ने विषय टुंगो लाग्नेछ।
