काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्ना संस्थापक सेयरधनीहरूको नाममा रहेको ६३ हजार २०० कित्ता संस्थापक सेयर बिक्री प्रक्रियामा ल्याएको छ। बैंकले सेयरधनीहरूको निवेदनका आधारमा उक्त सेयर बिक्री गर्ने निर्णय गरेको हो।
बैंक सञ्चालक समितिको माघ ९ गते सम्पन्न बैठकले संस्थापक सेयर बिक्री गर्ने निर्णय गरेको थियो। नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार बैंकले संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीहरूलाई नै दिने व्यवस्था लागू हुने बैंकले जनाएको छ।
बैंकद्वारा प्रकाशित सूचनाअनुसार, यी सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन दिन चाहने संस्थापकहरूले बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौँमा पुगेर आफूले खरिद गर्न चाहेको सेयर कित्ता उल्लेख गरी निवेदन पेस गर्न सक्नेछन्।
तोकेको ३५ दिनको समयसीमाभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन प्राप्त नभएमा मात्र बैंकले ती सेयरहरू अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाउने जनाएको छ।
