हकप्रद शेयरमार्फत आयोजना निर्माणमा २० प्रतिशत वित्तीय प्रगतिको सर्त हटाउन इप्पानको माग

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले हकप्रद शेयर जारी गरी आयोजना निर्माणका लागि प्रस्तावित आयोजनाको वित्तीय प्रगति कम्तीमा २० प्रतिशत पुष्टि गर्नुपर्ने प्रावधान हटाउन सरकारसँग माग गरेको छ। मंगलबार इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताललाई ज्ञापनपत्र बुझाउँदै उक्त व्यवस्था व्यावहारिक नभएको भन्दै संशोधनको माग गरेको हो।

इप्पानले हाल कायम रहेको विद्युत सम्बन्धी शेयरको सार्वजनिक निष्कासनको पूर्व स्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका, २०७८ अनुसार हकप्रद शेयर निष्कासनका लागि प्रस्तावित आयोजनाको कम्तीमा २० प्रतिशत वित्तीय प्रगति देखाउनुपर्ने सर्तले स्वपूँजी संकलन र ऋण व्यवस्थापनमा ठूलो अवरोध सिर्जना गरेको जनाएको छ। स्वपूँजी संकलन नगरी २० प्रतिशत वित्तीय प्रगति पुर्‍याउन असम्भव हुने, तर वित्तीय प्रगति नदेखाई हकप्रद शेयर पनि निष्कासन गर्न नपाइने अवस्थाले आयोजना नै प्रभावित भएको इप्पानको भनाइ छ।

ज्ञापनपत्रमा डेडिकेटेड आयोजनाका लागि मात्र हकप्रद शेयरमार्फत पूँजी परिचालन गर्न सकिने व्यवस्था रहेको तथा कम्पनीको साधारणसभाको निर्णयका आधारमा हकप्रद शेयर जारी गर्न पाउनुपर्ने माग पनि गरिएको छ। विभिन्न अध्ययन, अनुमतिपत्र, विद्युत खरिद–बिक्री सम्झौता र वित्तीय व्यवस्थाका कारण प्रवर्द्धकको प्रारम्भिक लगानी पहिल्यै ठूलो भइसकेको उल्लेख गर्दै इप्पानले यस प्रावधानले सरकारको सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यमा समेत असर पार्ने जनाएको छ।

वरिष्ठ उपाध्यक्ष डाँगीले हकप्रद शेयर जारी नगरी स्वपूँजी व्यवस्थापन असम्भव हुने र स्वपूँजी नजुटे बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह नगर्ने भएकाले आयोजना निर्माणमै अवरोध हुने बताए। त्यसैले आयोजना निर्माणलाई सहज बनाउन २० प्रतिशत वित्तीय प्रगतिको सर्त हटाउनुपर्नेमा उनले जोड दिए।

ज्ञापनपत्र बुझ्दै ऊर्जा सचिव चिरञ्जीवी चटौतले हकप्रद शेयर जारीसँग सम्बन्धित समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए। विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले पनि यस प्रावधानका कारण देखिएका व्यावहारिक अप्ठ्याराहरूको विस्तृत छलफल गरी समाधानतर्फ अघि बढ्ने बताए।

भेटमा इप्पानका कार्यसमिति सदस्यहरू उत्तरकुमार श्रेष्ठ, कुबेरमणि नेपाल, शुशन कर्माचार्य, सुमन जोशी, शंकर बश्याल तथा प्रमुख कार्यकारी अधिकृत भीम गौतम लगायतको सहभागिता रहेको थियो।