काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालको विदेशी विनिमय सञ्चितिमा उल्लेख्य सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मुलुकको कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले वृद्धि भई ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।
अमेरिकी डलरमा गणना गर्दा २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेको सञ्चिति पुस मसान्तसम्म आइपुग्दा १५.२ प्रतिशतले बढेर २२ अर्ब ४७ करोड डलर पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको हिस्सा १९.४ प्रतिशतले वृद्धि भई २८ खर्ब ८४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चितिमा ३६.२ प्रतिशतको उच्च वृद्धि देखिएको छ।
२०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाको विदेशी विनिमय सञ्चिति चालु आवको पुस मसान्तसम्म ३ खर्ब ५८ अर्ब ३७ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।
पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ। राष्ट्र बैंकका अनुसार हालको सञ्चिति नेपालको आर्थिक इतिहासमै मजबुत अवस्थामध्ये एक मानिएको छ।
२०८२/८३ को पहिलो छ महिनाको आयात आधार मान्दा हालको विदेशी विनिमय सञ्चितिले २१.४ महिनाको वस्तु आयात तथा १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिएको छ।
पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन (GDP), कुल आयात तथा विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ५३.१ प्रतिशत, १५०.७ प्रतिशत र ४०.५ प्रतिशत कायम भएको छ। यी सूचकहरूले मुलुकको बाह्य आर्थिक स्थिति थप सुदृढ बन्दै गएको संकेत गर्छन्।
