सन नेपाल लाइफको स्थिर प्रगति

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नाफा र बीमा कोष दुवैमा सुधार गर्दै स्थिर वित्तीय प्रगति देखाएको छ।

कम्पनीले सार्वजनिक गरेको साउनदेखि पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा २८ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १.११ प्रतिशतले बढी हो। गत वर्ष पुस मसान्तसम्म कम्पनीको नाफा २८ करोड २२ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जनमा वृद्धि देखिएको छ। पुस मसान्तसम्म कम्पनीले २ अर्ब २६ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.६४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले २ अर्ब १८ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यद्यपि, कम्पनीको कुल बीमाशुल्क आर्जन भने ४.१२ प्रतिशतले घटेर २ अर्ब ३५ करोड ५८ लाख रुपैयाँमा सीमित भएको छ। कुल बीमाशुल्कमा आएको गिरावटका बाबजुद खुद बीमाशुल्क र नाफामा सुधार देखिनु कम्पनीको खर्च व्यवस्थापन र व्यवसाय संरचनामा भएको सुधारका रूपमा हेरिएको छ।

वित्तीय मजबुतीको सूचक जीवन बीमा कोषको आकारमा उल्लेख्य वृद्धि देखिएको छ। गत वर्ष पुस मसान्तसम्म ८ अर्ब ९६ करोड ९४ लाख रुपैयाँ रहेको जीवन बीमा कोष चालु वर्षको सोही अवधिमा २३.९० प्रतिशतले बढेर ११ अर्ब ४ करोड ७९ लाख रुपैयाँ पुगेको छ।

५ अर्ब ३ करोड १२ लाख रुपैयाँ चुक्ता शेयर पूँजी रहेको कम्पनीको शेयर प्रिमियम खातामा १ अर्ब ३० करोड २२ लाख रुपैयाँ, महाविपत्ति कोषमा २३ करोड ६१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५४ करोड ८५ लाख रुपैयाँ तथा अन्य इक्विटीमा २९ करोड २० लाख रुपैयाँ सञ्चित रहेको छ।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (EPS) ११ रुपैयाँ ३० पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २८ पैसा रहेको छ। समग्र सूचकहरूले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय आधार क्रमशः सुदृढ बन्दै गएको देखाउँछन्।