समुन्द्रपार ढुवानी सुधारका लागि निजी क्षेत्र–वाणिज्य संवाद

काठमाडाैं । नेपाल समुन्द्रपार निकासी पैठारी संघले नेपालका लागि आयातित सामान ढुवानीमा देखापरेका समस्याको समाधानका लागि वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेसँग भेटेर ध्यानाकर्षण गराएको छ।

सङ्घको प्रतिनिधिमण्डलमा अध्यक्ष शिवकुमार अग्रवाल, महासचिव जयन्तकुमार अग्रवाल, सचिव विष्णुकुमार जोशी तथा कार्यसमिति सदस्य मयंक केडिया र आकाश गोल्छा सहभागी थिए। प्रतिनिधिमण्डलले केही महिनायता भारतीय भूमिमा ढुवानी गर्दा आयातमा विलम्ब भइरहेकाले नेपाली सामान ढुवानीका लागि थप रेल उपलब्ध गराउने पहल गर्न आग्रह गरेको महासचिव अग्रवालले बताए।

सङ्घले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस अनुसार भन्सार महसुल र अन्य कर दर समायोजन गरी वस्तुको मूल्यमा भारतीय बजारसँग फरक नपरोस् र ग्रे मार्केट नियन्त्रणमा रहोस् भन्ने मागसमेत उठाएको छ।

त्यसैगरी, तेस्रो मुलुकमा निर्मित मेसिन औजारका पार्टपुर्जा भारतबाट आयात गर्न पाउने व्यवस्थाका लागि नेपाल–भारत वाणिज्य सन्धिको प्रोटोकल संशोधन, सरकारले स्थगित गरेको निर्यात नगद अनुदान पुनः सञ्चालन, एजेन्सी ऐनका कठिन प्रावधान संशोधन र फर्म नवीकरणमा एकद्वार प्रणालीको आवश्यकता पनि सङ्घले औँल्याएको छ।

सङ्घले सरकारी निकायमा एक पटक पेश भएका कागजात आवश्यक पर्दा अन्य निकायले अनलाइनबाट प्राप्त गर्न सक्ने प्रणाली विकास गर्न, अधिकतम खुद्रा मूल्यको द्विविधा हटाउन र खुला बजार अर्थतन्त्रको सन्दर्भमा आवश्यक वस्तु आयातमा प्रतिबन्ध नलगाउन आग्रह गरेको छ। साथै, नगद कारोबार सीमा रु १० लाखबाट घटाएर पाँच लाख गरिएको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेको छ।

यस अवसरमा सचिव घिमिरेले विभिन्न आयात प्रतिबन्धका विषयमा अध्ययन गर्न समिति गठन भइसकेको जानकारी दिँदै सङ्घले उठाएका विषयमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने आश्वासन दिए।