अमेरिकामा नयाँ बजेट पास, आंशिक सरकारी शटडाउन अन्त्य

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार एक वृहत बजेट प्याकेजमा हस्ताक्षर गरेपछि हालको आंशिक सरकारी शटडाउन अन्त्य भएको छ।

शुक्रबार सिनेटबाट स्वीकृत भएपछि यो विधेयक तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट झिनो मतले पारित भएको थियो। नयाँ बजेट प्याकेजले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि अधिकांश संघीय निकायलाई बजेट उपलब्ध गराउनेछ। यी निकायमा रक्षा मन्त्रालय, शिक्षा मन्त्रालय, स्वास्थ्य र मानव सेवा मन्त्रालय, श्रम मन्त्रालय, यातायात मन्त्रालय र आवास तथा सहरी विकास मन्त्रालय समावेश छन्।

वृहत प्याकेजमा प्रारम्भमा समावेश गरिएको गृह सुरक्षा मन्त्रालय (डीएचएस) को बजेट भने हटाइएको छ। यस मन्त्रालयलाई हालको बजेट स्तरमा दुई हप्ताको निरन्तर प्रस्ताव (कन्टिन्युइङ रिजोलुसन) दिइनेछ, जसले आप्रवासन प्रवर्तन सम्बन्धी वार्ता जारी राख्न समय दिनेछ।

हालका वर्षहरूमा रिपब्लिकन र डेमोक्र्याटबीचको राजनीतिक ध्रुवीकरणले अमेरिकी संघीय सरकारलाई पटक–पटक शटडाउनको जोखिममा राख्दै आएको छ। गत वर्ष ४३ दिनसम्म चलेको कीर्तिमानी संघीय शटडाउन मात्र दुई महिना अघि समाप्त भएको थियो।