काठमाडौँ – चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो ६ महिनामा नेपालमा करदाताको संख्या उल्लेख्य रूपमा बढेको छ। आन्तरिक राजस्व विभागका अनुसार सक्रिय करदाताको संख्या ६ महिनामै ३,६१,००३ ले वृद्धि हुँदै कुल ७३,६०,३५३ पुगेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्म सक्रिय करदाता संख्या ६९,९९,३५० थियो। यस वर्ष व्यावसायिक प्यानतर्फ करदाताको संख्या २०,६०,७५८ बाट बढेर २१,१६,००० पुगेको छ। यस अवधिमा ५५,२४२ नयाँ व्यावसायिक प्यान दर्ता भएका छन्, जसले व्यावसायिक गतिविधि विस्तार भइरहेको देखाउँछ।
व्यक्तिगत प्यानमा सबैभन्दा ठुलो वृद्धिदेखिएको छ। व्यक्तिगत प्यान करदाता संख्या ४९,०२,७२२ बाट बढेर ५२,०७,६१२ पुगेको छ। यस अवधिमा ३,०४,८९० नयाँ व्यक्तिगत प्यान दर्ता भएका छन्।
विदेशी कामदार प्यान (डब्लु–प्यान) संख्या पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको असारसम्म ३५,८७० रहेको डब्लु–प्यान संख्या ८ सय ७१ ले वृद्धि हुँदै ३६,७४१ पुगेको छ।
मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुने करदाताको संख्या ३,५१,७३५ बाट बढेर ३,६४,९९२ पुगेको छ। यस अवधिमा १३,२५७ नयाँ भ्याट दर्ता भएका छन्। अन्त:शुल्कतर्फ पनि करदाता संख्या १,२४,९७ बाट बढेर १,२९,९४९ पुगेको छ, यसमा ४,९५२ नयाँ दर्ता थपिएका छन्।
आर्थिक गतिविधि विस्तार, डिजिटल दर्ता प्रणालीको पहुँच बढ्नु, र सरकारको कर दर्ता प्रोत्साहन प्रयासका कारण यस्तो वृद्धि भएको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
