निर्वाचनको ‘हटस्पट’ झापा २ :चर्चित अनुहारको दौडधुप

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशकै केन्द्रविन्दुका रुपमा लिइएको जिल्ला हो, कोशी प्रदेश अन्तरगतको झापा । दुई प्रधानमन्त्रीका उम्मेदवार एकैठाउँबाट निर्वाचन लड्दै गर्दा चर्चाको विषय बनेको हो ।
झापामा नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन साहको चुनावी प्रतिस्पर्धा चर्चाको विषय बनेको हो । तर, उनिहरुको निर्वाचन लड्ने क्षेत्र हो झापा क्षेत्र नं. ५ ।

झापा ५ मा उनीहरुविच तिब्र प्रतिस्पर्धा भइरहँदा जिल्लाकै क्षेत्र नम्बर २ पनि निर्वाचनको ‘हटस्पट’जस्तै छ । निवर्तमान सभामुख र उपसभामुखदेखि पूर्वमन्त्री, कानुनविद्, सामाजिक अभियन्ता र वैकल्पिक धारका नेतासम्म एउटै निर्वाचन क्षेत्रमा आमनेसामने भएपछि झापा–२ को प्रतिस्पर्धा पनि रोचक बन्दै गएको छ ।

यस क्षेत्रमा १५ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार गरी १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उम्मेदवारको संख्या मात्र होइन, उनीहरूको राजनीतिक हैसियत, व्यक्तित्व र विगतको प्रभावले झापा–२ लाई बहुआयामिक प्रतिस्पर्धाको केन्द्र बनाएको त्यहाँस्थित पत्रकार सुरेन्द्र भण्डारी बताउँछन् ।

देवराज घिमिरेः संगठन र सत्ताको बल

नेकपा (एमाले) बाट उम्मेदवार बनेका देवराज घिमिरे यस निर्वाचनका सबैभन्दा चर्चित पात्र हुन् । २०७९ को निर्वाचनमा २८ हजार ७१६ मत ल्याएर विजयी बनेका घिमिरे प्रतिनिधिसभाको सभामुख बनेपछि राष्ट्रिय राजनीतिमा स्थापित बने । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला र बलियो संगठनात्मक आधार भएको क्षेत्रमा घिमिरेको उम्मेदवारीलाई एमालेको संस्थागत शक्ति र निरन्तरताको प्रतीकका रूपमा हेरिएको छ ।
घिमिरेले आफ्नो छोटो कार्यकालमा सडक विस्तार, हात्ती प्रभावित क्षेत्रमा फेन्सिङ, चार लेन सडक जस्ता पूर्वाधार योजनालाई अघि बढाएको दाबी गर्दै पुनः जनमत मागिरहेका छन् ।

इन्दिरा राना मगरः विकल्पको प्रत्यक्ष परीक्षा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेकी इन्दिरा राना मगर यस निर्वाचनकी अर्को केन्द्रीय पात्र हुन् । समानुपातिक प्रणालीमार्फत संसद प्रवेश गरी उपसभामुखसम्म पुगेकी रानाका लागि यो चुनाव प्रतिष्ठाको विषय पनि बनेको छ ।

किनभने घिमिरे र राना एकै कार्यकालका सभामुख र उपसभामुख पनि हुन् । सामाजिक अभियानबाट राजनीतिमा आएकी रानाले आफूलाई परम्परागत दलभन्दा फरक, समावेशी र सामाजिक न्यायको आवाजका रूपमा प्रस्तुत गरिरहेकी छन् । सहरी मतदाता, महिला र परिवर्तन खोजिरहेका युवामाझ उनको चर्चा बढ्दो छ ।

तर बलियो संगठनात्मक संरचना नहुनु र प्रत्यक्ष चुनावमा रास्वपाको पहिलो ठूलो परीक्षा हुनु उनको चुनौती बनेको छ ।

भद्रप्रसाद नेपालः ‘निकट हार’ बाट पुनरागमन ?

अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर २६ हजार ४५५ मत ल्याउँदै दोस्रो स्थानमा रहेका भद्रप्रसाद नेपाल यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मैदानमा रहेका छन् ।

०७९ मा विजयी उम्मेदवार घिमिरेसँग उनको मत अन्तर केवल २ हजार २६१ थियो । नेपालको त्यो नतिजाले झापा–२ मा वैकल्पिक राजनीतिक धार बलियो रहेको संकेत दिएको थियो ।

यसपटक पार्टीको संगठन र स्पष्ट एजेन्डासहित मैदानमा उत्रिएका नेपालले अघिल्लो ‘निकट हार’ लाई जितमा बदल्न सक्ने हुन् कि होइनन् भन्ने चासो व्यापक छ । तर, रास्वपाको उदयपछि वैकल्पिक मत विभाजन हुने जोखिम उनिमाथि पनि थपिएको छ ।

अस्तित्व जोगाउने प्रयासमा कांग्रेस

नेपाली कांग्रेसकी उम्मेदवार सरिता प्रसाईं र नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार तथा पूर्वमन्त्री धर्मशीला चापागाईं पनि यो निर्वाचनमा प्रतिस्पर्धामा छन् । तुलनात्मक रुपमा कमजोर क्षेत्र रहेको कांग्रेसका लागि प्रसाई अनुभवी नेताका रुपमा चिनिन्छिन् ।

अघिल्लो निर्वाचनमा तत्कालिन माओवादीसहितको गठबन्धनका क्रममा यो क्षेत्र कांग्रेसले माओवादीलाई नै छाडेको थियो । जसमा उम्मेदवार बनेका हरिकुमार राना मगरले १३ हजार ९३० मत प्राप्त गरेका थिए ।
अघिल्लो निर्वाचनमा रहेको गठबन्धन भंग भएसँगै कांग्रेस र माओवादी धारका मत विभाजन हुने अवस्था देखिन्छ । तर, प्रसाईं सुधारिएको कांग्रेसको संकल्पका साथ मत मागिरहेकी छिन् ।

विखण्डित मत र निर्णायक युवा

बिर्तामोड, अर्जुनधारा नगरपालिका, कनकाई नगरपालिकाका दुई वडा र बुद्धशान्ति गाउँपालिकाका चार वडा समेटिएको झापा–२ मा कुल १ लाख ४७ हजार ५२२ मतदाता छन् ।

युवा मतदाता विकास, रोजगारी र वैकल्पिक राजनीतिक नेतृत्वप्रति आकर्षित देखिन्छन् । यही समूहले चुनावी परिणामलाई निर्णायक मोड दिन सक्ने आँकलन छ । बहुदलीय प्रतिस्पर्धाका कारण मत विखण्डन हुने सम्भावना बलियो छ, जसले अप्रत्याशित नतिजाको ढोका खुला राखेको छ ।

अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फ भने नेकपा एमाले पहिलो दल छ । एमालेले समानुपातिकमा २६ हजार ४९० मत पाउँदा रास्वपाले २२ हजार ५१७ मत पाएको थियो । तेश्रो स्थानमा रहेको कांग्रेसले १५ हजार ४ सय ९८ मत पाएको थियो ।

यहाँ राप्रपाको ७ हजार ८८० मत हुँदा तत्कालिन माओवादी र एकीकृत समाजवादीको गरेर ५ हजार २८ मत रहेको थियो ।