मेयर महर्जनको प्रतिवद्धता: पाटन अस्पतालको बीमा भुक्तानी महानगरलेै गर्ने

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे पनि महानगरपालिकाले आफैं तिर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रममा मेयर महर्जनले बीमा रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको बताउँदै सरकारको ध्यानाकर्षण गराए। उनले भने, कदाचित भुक्तानी नहुँदा सेवा बन्द गर्नुपर्ने अवस्था आएमा त्यसको जिम्मेवारी र आलोचना आफैंले खेप्नुपर्ने उनले स्पष्ट पारे।

मेयर महर्जनले औपचारिक अनुमति पाए वा सरकारले महानगरलाई भुक्तानी जिम्मेवारी सुम्पेमा महानगरपालिकाले सो दायित्व पूरा गर्ने दाबी गरे। उनले पाटन अस्पतालकै सल्लाह अनुसार नयाँ स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको र निकट भविष्यमै सञ्चालनमा आउने जानकारी पनि दिए।

उक्त नयाँ केन्द्र सञ्चालनमा आएपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानमार्फत नगरवासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउने महर्जनले बताए। उनले यो सहकार्य देशभरका अन्य ७५३ स्थानीय तहका लागि उदाहरणीय अभ्यास हुने समेत उल्लेख गरे।

मेयर महर्जनले भने, “पाटन अस्पतालकै सुझाव अनुसार फ्याकिलिटी इन्स्टल गरेर नयाँ स्वास्थ्य केन्द्र बनाइरहेका छौँ। निकट भविष्यमै खोल्नेछौँ। नेपाल सरकारले भुक्तानी नगरेको कारण केन्द्र बन्द गर्नुपरे पनि सबैभन्दा बढी गाली मैले खानुपर्ने रहेछ। यदि सरकारले महानगरलाई पत्र पठाएर भुक्तानी गर्न अनुमति दियो भने म भुक्तानी गरिदिन्छु।”

महानगर प्रमुखले ७५२ पालिकामध्ये ललितपुर महानगर पाटन अस्पतालसँग सहकार्य गरेर उदाहरणीय पालिका बन्न सफल भएको पनि बताए।

—न्युज एजेन्सी नेपाल