काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुरेन्द्र भण्डारीले नेपाली समाजले आशा गुमाएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित संसदीय निर्वाचन २०२६, नीतिगत बहसः शिक्षा, रोजगारी र शासन’ विषयक कार्यक्रममा उनले नेपाली समाजले ‘आशा’ भन्ने शब्द गुमाएको भन्दै यसलाई सम्बोधन गर्नु प्रमुख चुनौती रहेको बताए ।
उनले भने, ‘अहिलेको चुनौती भनेको सरकारी असफलतालाई सम्बोधन गर्ने हो । यसलाई सम्बोधन गरेर समाधान गर्न सक्यौ भने आशा रहन्छ । नेपाली समाजमा त्यो आशा भन्ने शब्द चाहिएको छ भन्ने लाग्छ । समाजले आशा गुमाएको छ । त्यो कहाँबाट सिर्जना हुन्छ, खोजी गर्नुपर्यो ।’
यस्तै, उनले ३५ वर्षको अवधीमा संसदमा शिक्षा, स्वास्थ्य, रोजगारी र अवसरको लगानीका विषयमा कति मिनेट पनि छलफल नभएको बताए ।
सोही क्रममा नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं–४ का उम्मेदवार सचिन तिमल्सिनाले आफ्नो पार्टीले बनाएको विधान वैशाखबाट लागु हुने भन्दै त्यस विधान अन्तर्गत राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक, सांसद् चार पटक मात्र हुन पाउने कुरा लेखिएको बताए ।
